गृहपृष्ठ दुई महिनासम्मका लागि काठमाडौंमा प्रदर्शन तथा भेला निषेध

दुई महिनासम्मका लागि काठमाडौंमा प्रदर्शन तथा भेला निषेध


काठमाडौं । काठमाडौंमा दुई महिनासम्मका लागि प्रदर्शन तथा भेला निषेध गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार काठमाडौं जिल्लाका केही प्रमुख स्थानहरूमा दुई महिनासम्मका लागि विरोधका कार्यक्रमहरू निषेध गरिएको जनाइएको छ ।गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार जारी गरेको आदेशअनुसार, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र आसपासका क्षेत्रमा प्रदर्शन, जुलुस, अनशन, धर्ना तथा विरोधका अन्य कार्यक्रमहरू गर्न पाइने छैन ।आदेशानुसार राष्ट्रपति कार्यालय क्षेत्र शीतल निवास, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि, सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म, सामाखुशी खोलासम्म, हरित गृह (उपराष्ट्रपति कार्यालय) क्षेत्र, केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म प्रदर्शन निषेध गरिएको छ ।त्यसैगरी सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तिनकुने आइल्याण्ड) को पूर्वी कुनादेखि सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म प्रदर्शन निषेध गरिएको जनाइएको छ ।

प्रशासनले निषेधित क्षेत्रमा विरोधका कार्यक्रमहरूबाट तोडफोड, आगजनी, भिडन्त तथा शान्ति सुरक्षामा गम्भीर असर पर्ने सम्भावना रहेको जनाउँदै यस्तो निर्णय लिएको जनाएको छ ।

साथै विरोध प्रदर्शनका लागि वैकल्पिक स्थानको व्यवस्था समेत गरिएको छ । प्रशासनले निषेधित क्षेत्रबाहेक अन्य स्थानहरूमा नेपाल संविधानअनुसार नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता रहेको स्मरण गराएको छ। तर, कुनै पनि विरोध प्रदर्शनबाट सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति भएमा सम्बन्धित आयोजकबाट क्षतिपूर्ति असुल गरिने प्रशासनको भनाई छ ।

आदेश फागुन २५ गतेदेखि आगामी दुई महिनासम्म लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु