गृहपृष्ठ रेशम चौधरी पक्राउ: सर्वोच्चको आदेश कार्यान्वयन भन्दै प्रहरीले नियन्त्रणमा लियो

रेशम चौधरी पक्राउ: सर्वोच्चको आदेश कार्यान्वयन भन्दै प्रहरीले नियन्त्रणमा लियो


काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग एकताको घोषणा हुनुअघि बुधबार दिउँसो उनलाई प्रज्ञा भवन परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

सादा पोशाकमा खटिएका सुरक्षाकर्मीहरूले चौधरीलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए। काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराका अनुसार, सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरिएको हो।

एसपी बोहोराले भने, “हामीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न उहाँलाई पक्राउ गरेका हौं। पक्राउपश्चात डिल्लीबजार कारागारमा बुझाइएको छ।”

२०७२ साल भदौ महिनामा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न ठहर गर्दै अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

प्रहरी स्रोतका अनुसार सर्वोच्च अदालतले उक्त आममाफीको निर्णय उल्टाएपछि उनलाई पुनः पक्राउ गरिएको हो।

यसअघि यस्तै मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेलले योगप्रसाद ढकाल (रिगल) लाई दिएको कैद मिनाहालाई सर्वोच्च अदालतको पूर्ण इजलासले बदर गर्दै उनलाई पुनः पक्राउ गरी कारागार चलान गर्न परमादेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु