गृहपृष्ठ भैरहवामा सम्पन्न भयो महिला पत्रकार लक्षित फिचर लेखन तालिम
भैरहवामा सम्पन्न भयो महिला पत्रकार लक्षित फिचर लेखन तालिम
भैरहवा,वैशाख ७
महिला पत्रकारहरूको लेखन दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सञ्चारीका समूह, रुपन्देहीको सहकार्यमा फिचर लेखन वृत्ति विकास तालिम भैरहवामा सम्पन्न भएको छ।
तालिममा रुपन्देही जिल्लाका विभिन्न सञ्चारमाध्यमहरूमा आवद्ध ३५ जना महिला पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको उद्देश्य महिला सञ्चारकर्मीहरूलाई खोजमूलक र सशक्त फिचर लेखनमा अभ्यस्त गराउँदै उनीहरूको व्यावसायिक क्षमतामा वृद्धि गर्नु थियो।
कार्यक्रमको उद्घाटन सत्रमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले संविधानले महिलालाई दिएका अधिकारहरू विविध बहानामा खुम्च्याउने प्रवृत्ति अझै पनि समाजमा विद्यमान रहेको भन्दै त्यसविरुद्ध पत्रकारहरूले कलमको शक्तिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। “पत्रकारको कलम समाज बदल्ने शक्तिशाली औजार हो,” उनले भनिन्, “त्यसैले महिलालाई दिइएका अधिकार कटौती गर्ने प्रवृत्तिहरूको पर्दाफास हुनु जरुरी छ।”
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले पत्रकारिता सकारात्मक र नकारात्मक दुवै पक्षको प्रस्तुति हो भन्दै नगरपालिकासँग सम्बन्धित गतिविधिहरूको निष्पक्ष रूपमा समेट्न सुझाव दिनुभयो।
नेपाल पत्रकार महासंघ, रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले पत्रकारले समाजका यथार्थ अवस्थाहरू लेखनमार्फत उजागर गर्ने भएकाले कसैको दबाब वा प्रभावमा नपरी स्वतन्त्र रूपमा कार्य गर्नुपर्ने धारणा राख्नुभयो। “सत्य लेख्न पत्रकार नडराउने हो भने समाजको यथार्थ जनतासमक्ष प्रस्तुत हुन्छ,” उनले भने।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले सञ्चारीका समूहले विगतदेखि नै महिला पत्रकारहरूलाई प्रशिक्षणमार्फत सशक्तिकरण गर्दै आएको चर्चा गर्दै फिचर लेखनजस्ता तालिमले व्यावसायिक पत्रकारितामा ठोस प्रभाव पार्ने बताउनुभयो।
तालिमका विभिन्न सत्रहरूमा सञ्चारीका समूह, लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोल, पूर्वअध्यक्ष निरा गौतम (निरु) लगायतका वक्ताहरूले पत्रकारितामा टिक्नका लागि लेखनमा दखल हुनु अनिवार्य रहेकोमा जोड दिनुभयो। उनीहरूले पत्रकारितामा लेखन सीपसँगै समाजको गहिरो अध्ययन आवश्यक हुने र खोज अनुसन्धानमूलक रिपोर्ट तथा फिचर लेख्न प्रेरित गरे।
कार्यक्रमको समापन सत्र सञ्चारीका समूह नेपाल, रुपन्देहीकी अध्यक्ष मिना ढकालको अध्यक्षता, उपाध्यक्ष मिना पाण्डे (अस्मिना) को स्वागत मन्तव्य र महासचिव छाया पन्थको सञ्चालनमा सम्पन्न भएको थियो।








