गृहपृष्ठ लायन्स आँखा अस्पतालको विकासमा देखिएका कानुनी समस्या समाधान गर्न सभामुख अर्यालको प्रतिबद्धता

लायन्स आँखा अस्पतालको विकासमा देखिएका कानुनी समस्या समाधान गर्न सभामुख अर्यालको प्रतिबद्धता


बुटवल टाइम्स
कल्पना घिमिरे

रुपन्देही । मंसिर ११ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बुटवलस्थित लायन्स आँखा अस्पतालको संस्थागत विकासका क्रममा देखिएका कानुनी तथा नीतिगत समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
शुक्रबार अपराह्न अस्पतालको अवलोकन तथा निरीक्षणका क्रममा पुग्नुभएका सभामुख अर्यालले अस्पतालको सेवा प्रवाह, पूर्वाधार, संस्थागत अवस्था तथा आगामी योजनाबारे जानकारी लिनुभएको थियो।
सो अवसरमा उहाँले तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य हुन सके अस्पतालको संस्थागत विकासमा देखिएका समस्या समाधान गर्न सहज हुने बताउनुभयो। स्थानीयस्तरमा सञ्चालित महत्वपूर्ण स्वास्थ्य संस्थाको विकासका लागि स्थानीय अगुवाहरूले निरन्तर पहल र खबरदारी गर्नुपर्नेमा जोड दिँदै उहाँले आवश्यक सहयोग र सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो।
आफू पनि लायन्सको सदस्य रहेको उल्लेख गर्दै सभामुख अर्यालले लायन्स क्लबको पहलमा सञ्चालित अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। तीन दशकदेखि बुटवलमा सेवा दिँदै आएको अस्पतालले महत्वपूर्ण योगदान पुर्‍याएको देख्दा खुसी लागेको उहाँको भनाइ थियो।
उहाँले अस्पतालको थप उन्नति र प्रगतिका लागि योजनाबद्ध रूपमा अघि बढ्न आग्रह गर्दै संस्थागत विकासका क्रममा कानुनी जटिलता देखिए त्यसलाई सहज बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। संघसंस्थाले सहज वातावरणमा काम गर्न सक्ने गरी कानुन निर्माणमा समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
सभामुख अर्यालले अस्पतालका समस्या र आवश्यकताबारे स्थानीय सांसदहरूमार्फत सम्बन्धित निकायमा विषय उठाउन आग्रह गर्नुभयो। कार्यक्रममा उपस्थित सांसदहरू मञ्जु भुसाल, श्रद्धा कुँवर, तौफिफ खान र अमृता विकलाई अस्पतालको विकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्न उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक उपाध्याय, अध्यक्ष महेश श्रेष्ठ, व्यवस्थापन समिति सदस्य दिनेशप्रसाद प्रधानलगायतले अस्पतालको वर्तमान अवस्था, आगामी योजना तथा संस्थागत विकासका क्रममा देखिएका समस्या र चुनौतीबारे सभामुख अर्याललाई जानकारी गराउनुभएको थियो।
यसैबीच, सभामुख अर्यालले अस्पतालमा आफ्नो आँखाको परीक्षणसमेत गराउनुभएको छ। शुक्रबार अपराह्न करिब ४ बजे अस्पताल पुग्नुभएका उहाँको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायसहितको टोलीले आँखासम्बन्धी तीन प्रकारका परीक्षण गरेको थियो।
शनिबार पाल्पामा आयोजना हुने लायन्सको कार्यक्रममा सहभागी हुन आएका बेला अस्पतालको अवलोकन गर्ने अवसर मिलेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो। स्वागत कार्यक्रममा अस्पताल उद्घाटन गर्नुभएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई स्मरण गर्दै उहाँले अस्पताल स्थापनामा योगदान पुर्‍याउने लायन्सकर्मी तथा स्थानीय अग्रजहरूको प्रशंसासमेत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु