गृहपृष्ठ लुम्बिनीमा ‘लुम्बिनी बाई-साइकल’ कार्यक्रम सुरु, ८ किलोमिटरको साइकल मार्ग सञ्चालनमा
लुम्बिनीमा ‘लुम्बिनी बाई-साइकल’ कार्यक्रम सुरु, ८ किलोमिटरको साइकल मार्ग सञ्चालनमा
मंसिर ८,२०८३
बुटवल टाइम्स
रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकले अब साइकलमार्फत स्थानीय गाउँबस्तीको भ्रमण गर्न पाउने भएका छन्। ग्रामीण पर्यटन प्रवर्द्धन र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले मंगलबारदेखि ‘लुम्बिनी बाई-साइकल’ कार्यक्रम सुरु गरिएको हो।
पहिलो चरणमा ८ किलोमिटरको मैत्री मार्ग सञ्चालनमा ल्याइएको छ। लुम्बिनी बजार चोकबाट सुरु हुने मार्ग ओशो तपोवन, महिलवार, बुधनीपुर र लक्ष्मीपुर हुँदै पुनः ५ नम्बर गेटमा पुगेर टुंगिन्छ।

लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माका अनुसार साइकल यात्रामार्फत पर्यटकले लुम्बिनी विकास कोषको पर्खालबाहिर रहेका पुराना गाउँबस्ती, मठमन्दिर, पोखरी, खेतबारी, स्थानीय संस्कृति र जनजीवनको अनुभव लिन सक्नेछन्। पर्यटकको बसाइँ लम्ब्याउन र ग्रामीण पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम सुरु गरिएको उनले बताए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक खड्गविक्रम शाहले दिगो पर्यटन, वातावरण संरक्षण र स्थानीयको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए।
त्यस्तै, लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माले साइकल यात्राले लुम्बिनीको तीर्थाटनलाई थप शान्त र वातावरणमैत्री बनाउन सहयोग पुग्ने बताइन्।
कार्यक्रमले लुम्बिनी आउने पर्यटकलाई धार्मिक तथा ऐतिहासिक स्थलसँगै स्थानीय गाउँबस्ती, संस्कृति र ग्रामीण जनजीवनसँग जोड्ने अपेक्षा गरिएको छ















