गृहपृष्ठ जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल


असाेज ८ ,२०८३
बुटवल टाइम्स

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट जोखिममा रहेका मुलुकको साझा आवाज सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबीच सुदृढ सहकार्य आवश्यक रहेको बताएका छन्।
जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च (CVF)को नेताहरूको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले नेपाल र बार्बाडोसबीचको सहकार्य थप सघन बनाउनुपर्नेमा जोड दिए।
हिमालयमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लाइ तथा हिमताल विस्फोटजन्य बाढी र क्यारिबियन क्षेत्रमा आउने शक्तिशाली आँधीको उदाहरण दिँदै उनले जलवायु संकटको प्रभाव अग्रपङ्क्तिमा रहेका मुलुकले भोगिरहेको बताए।
भोटेकोशी बाढीको उदाहरण दिँदै मन्त्री खनालले जलवायुजन्य विपद्ले राजमार्ग, जलविद्युत् आयोजना, विद्यालय, अस्पताल तथा स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर क्षति पुर्‍याउन सक्ने उल्लेख गरे।
उनले जलवायु उत्थानशील विकास, विकास वित्त प्रणाली सुधार, पूर्वसूचना प्रणालीमा लगानी, हरित तथा डिजिटल रूपान्तरण र हानि तथा क्षतिसम्बन्धी वित्तीय सहायता प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
नेपाल सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री खनालले हिमाली तथा टापु राष्ट्रबीचको सहकार्यलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु