गृहपृष्ठ प्रधानमन्त्री शाह न्युयोर्कमा, शुक्रबार महासभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री शाह न्युयोर्कमा, शुक्रबार महासभालाई सम्बोधन गर्ने
असाेज ८ , २०८३
बुटवल टाइम्स
प्रधानमन्त्री शाह न्युयोर्कमा, शुक्रबार महासभालाई सम्बोधन गर्ने
संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह बुधबार अमेरिकाको न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान महासभाको ८१औँ सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्।
यस वर्ष महासभाको उच्चस्तरीय छलफल ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ भन्ने मूल विषयमा केन्द्रित छ। महासभामा जलवायु परिवर्तन, विश्वव्यापी द्वन्द्व, कृत्रिम बुद्धिमत्ता र बहुपक्षीय संस्थाको सुधारलगायत विषय प्रमुख एजेन्डाका रूपमा उठिरहेका छन्।
प्रधानमन्त्री शाहलाई जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत शरदराम आर्याल र न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलगायत अधिकारीले स्वागत गरेका थिए।

















