गृहपृष्ठ अध्यक्ष ओलीले बैठक चलाएपछि एमाले केन्द्रीय कमिटीमा फेरि विवाद
अध्यक्ष ओलीले बैठक चलाएपछि एमाले केन्द्रीय कमिटीमा फेरि विवाद
असाेज ६ , २०८३
बुटवल टाइम्स
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ। ललितपुरको भैँसेपाटीस्थित रामबाग महलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्दै छन्।

बैठक सुरु भएलगत्तै बैठक सञ्चालनको प्रक्रियालाई लिएर विवाद भएको छ। केन्द्रीय सदस्य कर्णबहादुर थापाले सदस्यहरूलाई आफ्नो धारणा राख्नबाट रोक्न नहुने भन्दै बैठक सञ्चालन प्रक्रियाप्रति आपत्ति जनाएका थिए।
यसअघि बैठकको पहिलो दिन पनि सञ्चालन प्रक्रियालाई लिएर विवाद भएको थियो। अध्यक्ष ओलीले आफैँ बैठक सञ्चालन गरेपछि नेता कृष्णगोपाल श्रेष्ठले आपत्ति जनाएका थिए। पार्टीमा महासचिवले बैठक सञ्चालन गर्ने परम्परा रहेको भन्दै श्रेष्ठले अध्यक्षले बैठक सञ्चालन गरेकोमा असन्तुष्टि जनाएका थिए।
यसपटकको बैठकमा अध्यक्ष ओलीले नै बैठक सञ्चालन गरिरहेका छन्। बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई मोबाइल फोन लैजानसमेत प्रतिबन्ध लगाइएको छ।
आजको बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ। प्रत्येक सदस्यलाई तीन मिनेटको समय दिइएको बताइएको छ।

















