गृहपृष्ठ ‘सुशासन नारा होइन, काम हो’ : प्रधानमन्त्री शाह
‘सुशासन नारा होइन, काम हो’ : प्रधानमन्त्री शाह
असाेज ३,२०८३
बुटवल टाइम्स
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शनिबार संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्न सरकार अझ बलियो र सक्रिय भएर अघि बढिरहेको बताए।

‘यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन्,’ उनले भने।
विकासका लागि सुशासन अनिवार्य पूर्वशर्त भएको उल्लेख गर्दै उनले सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई प्राथमिकता दिएको बताए।
‘सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने।
संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वय आवश्यक रहेको उनको भनाइ छ। तीनै तहबीचको सहकार्य र समन्वयमार्फत राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न संघीय सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
















