गृहपृष्ठ कांग्रेसको विवाद समाधान गर्न दुवै महाधिवेशन रोक्न शेखरको आग्रह

कांग्रेसको विवाद समाधान गर्न दुवै महाधिवेशन रोक्न शेखरको आग्रह


 

आश्विन १, २०८३

बुटवल टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षले अघि सारेका दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्नुपर्ने बताएका छन्।

 

पार्टीको आन्तरिक विवाद र आसन्न दुई महाधिवेशनका विषयमा बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले दुईवटा महाधिवेशनले कांग्रेससँगै देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत असर पार्न सक्ने बताएका हुन्।

“मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो। यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ,” उनले भनेका छन्।

कोइरालाले पार्टीभित्रको समस्या समाधानका लागि आफूले विगतमा पनि समझदारीको प्रयास गरेको र अहिले पनि त्यसैका लागि पहल गर्ने बताएका छन्।

उनले मध्यमार्ग रोज्नु कठिन भए पनि पार्टी र देशका लागि त्यही उपयुक्त बाटो भएको दाबी गरेका छन्।

“मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो। मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो। यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो,” उनले विज्ञप्तिमा भनेका छन्।

आफूमाथि विभिन्न आरोप लगाइए पनि कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न आफू प्रतिबद्ध रहेको कोइरालाले बताएका छन्। उनले आफूलाई कांग्रेस र लोकतन्त्रका लागि निरन्तर काम गर्ने सिपाहीका रूपमा प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु