गृहपृष्ठ दशैंमा व्यापार विगतको तुलनामा २०–४०% घट्ने अनुमान।

दशैंमा व्यापार विगतको तुलनामा २०–४०% घट्ने अनुमान।


आश्विन ७, २०८२

काठमाडौँ । जेनजी आन्दोलनले नेपाली अटो व्यवसायमा ठूलो आघात पुर्‍याएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनमा देशभर सरकारीदेखि निजी सम्पत्तिसम्म तोडफोड, आगजनी र लुटपाट हुँदा त्यसको प्रत्यक्ष असर अटो बजारमा परेको व्यवसायीहरूको गुनासो छ ।

यसअघि नाडा र नाइमा दुवै संस्थाले छुट्टाछुट्टै अटो शो आयोजना गरेर बजारमा उत्साह ल्याएका थिए । दुई शोमा करिब आठ हजारभन्दा बढी गाडी बुकिङ भएका थिए र व्यवसायीहरू चाडपर्वअघि उच्च व्यापारको आशामा थिए । तर आन्दोलनपछि बुकिङ रद्द हुने क्रम सुरु भएको छ ।

नाडाका पूर्वअध्यक्ष ध्रुव थापाका अनुसार आन्दोलनपछि प्रायः शोरुम सुनसान छन् । ‘बुकिङ भएका गाडी समेत ग्राहकले क्यान्सिल गर्न थालेका छन्,’ उनले भने । नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लले पनि यसपटक दशैंमा विगतको तुलनामा करिब ४० प्रतिशतसम्म व्यापार घट्ने देखिएको बताए ।

लक्ष्मी हुन्डाईका महाप्रबन्धक दीपक थपलियाले चाडपर्व लक्षित अफर र छुटले समेत बजार बचाउन नसकेको उल्लेख गरे । ‘अटो बजार शून्यतामा पुगेको छ, ग्राहकको मनोबल नै गिरेको छ,’ उनले भने । बाढी–पहिरोका कारण ढुवानी खर्च बढ्नु र गाडी डेलिभरी रोकिनु थप समस्याका रूपमा देखिएको उनको भनाइ छ ।

व्यवसायीहरूले वर्षभरि सामान्य व्यापार गरेर चाडपर्वमा बढी आम्दानी गर्ने रणनीति बनाउने गर्छन् । तर यसपटक आन्दोलनले वातावरण नै बिगारेकाले चाडपर्व विशेष अफर र नगद छुट योजनाले पनि अपेक्षित परिणाम दिन नसकेको उनीहरूको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु