गृहपृष्ठ संघीय निजामती विधेयक: विशेष समितिको प्रतिवेदन आज संसदमा पेश गर्ने
संघीय निजामती विधेयक: विशेष समितिको प्रतिवेदन आज संसदमा पेश गर्ने
१९ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको त्रुटिको छानबिन गर्न गठित विशेष समितिको बैठक आज बिहानैदेखि निरन्तर चलिरहेको छ।
समितिका सदस्यहरूका अनुसार हिजो राति १२ बजेसम्म छलफलपछि आज बिहान ७ बजेदेखि नै बैठक सुरु भएको हो। यद्यपि समितिको म्याद हिजो साउन १८ गते नै सकिएको थियो, बैठक हिजोकै निरन्तरताको रूपमा जारी रहेको सभापति जीवन परियारले जानकारी दिए।
आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने तयारी छ। सोही बैठकमा छानबिन समितिले प्रतिवेदन पेश गर्ने भएकाले अन्तिम मस्यौदा तयार पार्ने काम भइरहेको छ।
समितिमा रहेका सत्तापक्षका सांसदहरूले हिजो प्रमुख विपक्षी दल कांग्रेस र नेकपा एमालेका नेताहरूसँग छुट्टै संवाद गरेका थिए। एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि सहभागी थिए। छलफल समितिको कामको प्रगति र म्याद थप्नुपर्ने नपर्ने विषयमा केन्द्रित थियो।
बर्तौलाका अनुसार समितिले थप समय माग नगरेको स्पष्ट गरे पनि, छलफलमा समितिको कामबारे गम्भीर चासो व्यक्त गरिएको थियो।
विधेयकमा २ वर्षको ‘कुलिङ पिरियड’ (नोकरीबाट अवकाशपछि पुनः नियुक्तिमा रोक) को व्यवस्था राख्ने सहमति अनुसार उक्त प्रावधान समावेश गरिएको थियो। तर, विधेयकको भाषामा ‘निष्क्रिय’ हुने शब्दावली प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो। सोही कारण २३ असारमा संसदले विशेष छानबिन समिति गठन गरेको थियो।
समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो भने पछि एक साताका लागि म्याद थपिएको थियो।
छानबिन समितिमा नेपाली कांग्रेसका जीवन परियार सभापति छन्। सदस्यहरूमा कांग्रेसकै सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की रहेका छन्।

















