२०८२ साउन १८ गते
विराटनगर — सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई लिएर बिर्तामोड नगरपालिकाका उपमेयर नागेन्द्रप्रसाद सङ्ग्रौलामाथि कार्यकक्षमै हातपातको प्रयास भएपछि उत्पन्न विवाद झन् जटिल बन्दै गएको छ।
उक्त घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकालाई घेराउ गर्दै आन्दोलन थालेका छन्। नेकपा एमालेले भने उपमेयरमाथि हातपात प्रयास गर्नेहरूमाथि कारबाहीको माग राखेको छ।
दुवै पक्षले अडान छोड्न नखोज्दा बिर्तामोड नगरपालिकाभित्र राजनीतिक तनाव चुलिँदै गएको छ।
फेसबुक कमेन्टबाट सुरु भएको विवाद
विवादको सुरुवात उपमेयर सङ्ग्रौलाले फेसबुकमा बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीलाई लक्षित गर्दै गरेको टिप्पणीबाट भएको हो। कार्की राप्रपाबाट दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन्।
केही दिनअघि सार्वजनिक भएको कार्यपालिका बैठकको फोटोमा वडा नम्बर ८ का प्रतिनिधिहरू नदेखिएको विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता चिरन कार्कीले प्रश्न उठाएका थिए। उक्त स्ट्याटसमा उपमेयर सङ्ग्रौलाले मुद्दा विचाराधीन अवस्थामा रहेका वडाध्यक्ष कार्कीप्रति असान्दर्भिक र आपत्तिजनक टिप्पणी गरेका थिए।
सङ्ग्रौलाले कार्कीलाई “नागरिकता बेचुवा” समेत भनेका थिए। कार्कीमाथि नागरिकता सिफारिससम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ, तर अन्तिम फैसला भइसकेको छैन।
कार्यकक्षमै भनाभन र हातपात प्रयास
सोही विवादको सिलसिलामा उपमेयर सङ्ग्रौलाको कार्यकक्षमै वडाध्यक्ष कार्की र उनका समर्थकबीच भनाभन भयो। घटनाक्रमले तनाबपूर्ण रूप लिँदा उपमेयरमाथि हातपातको प्रयास भएको थियो।
यस घटनालाई लिएर शुक्रबार राप्रपा, माओवादी केन्द्र र रास्वपाले संयुक्त रूपमा नगरपालिकामा प्रदर्शन गरेका थिए। आइतबारको कार्यक्रम भने झरीका कारण स्थगित गरिएको थियो। ती दलहरूले आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाउने घोषणा गरिसकेका छन्।
उपमेयरमाथि चरित्रहत्या र अमर्यादित व्यवहारको आरोप
सामाजिक सञ्जालको दुरुपयोग गर्दै सार्वजनिक पदाधिकारीमाथि चरित्र हत्या गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने र समाजमा भ्रम फैलाउने प्रयास भएको भन्दै आन्दोलनकारी दलहरूले उपमेयर सङ्ग्रौलालाई कारबाही गर्न माग गरेका छन्।
नगरप्रमुखको कार्यकक्षमै यस्तो घटनाक्रम हुनुले सम्पूर्ण नगरपालिका विवादमा मुछिएको छ, जसले स्थानीय प्रशासनिक कामकाजलाई समेत असर पुर्याउने चिन्ता जनाइएको छ।










