गृहपृष्ठ मैवाखोला गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक: अर्गानिक कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता
मैवाखोला गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक: अर्गानिक कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता
ताप्लेजुङ, । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मङ्गलबार गाउँसभा र १७औँ बजेट अधिवेशनमार्फत गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
अध्यक्ष वनेमले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम अनुसार अर्गानिक कृषि, गुणस्तरीय शिक्षा, समावेशी स्वास्थ्य, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ।
शिक्षाका क्षेत्रमा दक्ष, सभ्य, अनुशासित, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति सकारात्मक सोच राख्ने, वैज्ञानिक दृष्टिकोण भएका नैतिकवान, नवप्रवर्तनशील तथा सिर्जनशील जनशक्तिको विकास गर्ने लक्ष्यसहित शिक्षा नीति कार्यान्वयन गरिने बताइएको छ। विद्यालय स्तरमै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने लक्ष्यसहित खेलकुद नीति पनि अघि सारिएको छ।
स्वास्थ्यका क्षेत्रमा भने आधारभूत तथा गुणस्तरीय सेवामा समतामूलक पहुँच सुनिश्चित गर्ने गरी स्वास्थ्य तथा जनसंख्या सम्बन्धी नीति लागू गरिनेछ। लैङ्गिक विभेद न्यूनीकरणका लागि महिला तथा आमामुखी कार्यक्रमलाई प्राथमिकतामा राखिने जनाइएको छ।
बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित बालबालिकासम्बन्धी नीति पनि अवलम्बन गरिने भएको छ। यस्तै, खानेपानी तथा सरसफाइ, कला, भाषा, साहित्य, सांस्कृतिक सम्पदाको संरक्षण, पूर्वाधार तथा आर्थिक विकास, कृषि तथा सहकारी, सिँचाइ, पशुपालन विकासलगायतका क्षेत्रका नीतिहरू पनि कार्यक्रममार्फत प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँसभा तथा बजेट अधिवेशनमा उपाध्यक्ष कमलकुमारी लिम्बू, प्रमुख प्रशासकीय अधिकृत तथा सभा-सचिव लक्ष्मीमाया गोम्देन, वडाध्यक्षहरू लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो। प्रवक्ता चन्द्रकुमार तामाङका अनुसार ताप्लेजुङका नौ स्थानीय तहमध्ये आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पहिलो पालिका मैवाखोला बनेको हो।









