गृहपृष्ठ गभर्नर नियुक्तिमा ढिलाइ : कांग्रेस–एमाले नेतृत्वबीचको अविश्वास थप चर्कियो

गभर्नर नियुक्तिमा ढिलाइ : कांग्रेस–एमाले नेतृत्वबीचको अविश्वास थप चर्कियो


काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट भएका छन् । उनी प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार गएनन् ।

गभर्नर नियुक्तिको प्रक्रियालाई चरम राजनीति गरेका दुई दलका शीर्ष नेताहरू दुई महिनादेखि यही विषयमा अल्झिएका छन् । ढिलो गरी चैत ११ मा गभर्नर सिफारिस समिति गठन भए पनि अहिलेसम्म एक पटक पनि बैठक बसेको छैन । बरु समिति नै दुई पटक पुनर्गठन भएको छ ।

पछिल्लो पटक एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले गरेको प्रस्तावअनुसार सोमबारसम्म सिफारिस समितिको बैठक बस्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने कांग्रेसको विश्वास थियो । तर, साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकअघि गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटार बोलाएका थिए । ‘तर कांग्रेस सभापति देउवाले रिसाउँदै गभर्नरका विषयमा छलफल गर्न अब आउँदिनँ, प्रधानमन्त्रीले जे निर्णय गरे पनि हुन्छ भनेर जवाफ दिनुभयो, त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुभयो,’ कांग्रेसका एक मन्त्रीले भने ।

दुई नेताको असमझदारीबीच गृहमन्त्री रमेश लेखक सोमबार अपराह्न सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । उनले सोमबार नै सिफारिस समितिको बैठक राख्न र मन्त्रिपरिषद्बाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । कांग्रेसले गभर्नरका लागि प्रस्ताव गरेका व्यक्ति (विश्व पौडेल) संसदीय निर्वाचनमा उम्मेदवारसमेत भएको प्रसंग उठाउँदै ओलीले उनको योग्यतामाथि प्रश्न उठाएका थिए ।

‘नेपाल राष्ट्र बैंक ऐन २०५८ ले राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर नियुक्त हुन अयोग्य मानेको छ, प्रधानमन्त्रीले यस विषयमा गृहमन्त्रीसँग चासो राख्नुभएको हो, नियुक्ति गरिहाले कानुनी अड्चन आउँछ कि भन्नुभएको हो,’ एमालेका एक नेता भने ।

तर गृहमन्त्री लेखकले भने गभर्नर र व्यक्तिका विषयमा यसअघि नै दुई नेताबीच पटकपटक छलफल र सहमति भएको प्रसंग सम्झाएका थिए । प्रधानमन्त्रीसँगको भेटको विषयमा कान्तिपुरसँग कुरा गर्दै लेखकले भने मंगलबारसम्म टुंगोमा पुग्ने आशा व्यक्त गरे ।

‘प्रधानमन्त्रीले मलाई अलि सञ्चो छैन, सभापतिजीसँग मेरो कुराकानी भइसकेको छ, भोलि मन्त्रिपरिषद् बसेर टुंग्याउँ भन्नुभयो, त्यसो भन्दाभन्दै आजै गर्नुपर्छ भनेर मैले भन्नु मर्यादित भएन,’ लेखकले भने, ‘मंगलबार प्रक्रिया टुंगिन्छ भन्नेमा हामी आशावादी छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु