गृहपृष्ठ दशैंअघि चीनबाट कन्टेनर कम: व्यापारीहरू मारमा
दशैंअघि चीनबाट कन्टेनर कम: व्यापारीहरू मारमा

आश्विन ११, २०८२
काभ्रेपलाञ्चोक, ११ असोज — दशैं नजिकिँदै गर्दा पनि चीनको तातोपानी नाकाबाट नेपाल भित्रिने कन्टेनरको संख्या अत्यन्तै न्यून भएको व्यापारीहरूले गुनासो गरेका छन्।
करीब दुई महिना पहिरोका कारण बन्द भएको तातोपानी नाका बल्ल खुले पनि दशैंलक्षित सामान ल्याउन पर्याप्त कन्टेनर छाडिन नसक्दा उद्योग–व्यवसाय प्रभावित भएका छन्। गोल्डस्टारका सप्लाई हेड संजीव कर्णका अनुसार दशैंका लागि ल्याइएको १७ मध्ये जम्मा २ वटा कन्टेनर मात्र नेपाल भित्रिएको छ। ५० करोड बराबरको कच्चा पदार्थ ल्याउन नसक्दा कम्पनीको उत्पादन ३० दिनदेखि ठप्प भएको उनले बताए।
‘दशैंमा उत्पादन र बिक्री गर्ने अवसर गुम्यो, अब तिहारसम्म पनि सामग्री आइपुग्छ कि भन्ने अनिश्चितता छ,’ कर्णले भने। उनका अनुसार तयार कपडा, जुत्ता र अन्य लत्ताकपडा चीनमै रोकिँदा व्यापारीहरू ठूलो संकटमा परेका छन्।
ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले पनि अन्य दिनको तुलनामा अहिले दैनिक ४० को साटो ७–८ वटा मात्र कन्टेनर आइरहेको बताए। उनले माग उच्च हुने दशैं–तिहारको बेला कन्टेनर पर्याप्त नआउनु अकल्पनीय भएको जनाए।
तातोपानी भन्सारका सूचना अधिकारी रमेश शाहका अनुसार चिनियाँ पक्षले खासामा भइरहेको सडक निर्माण र ट्राफिकलाई कारण देखाउँदै कन्टेनर रोकेको जनाएको छ। उनले भने, ‘व्यवसायीहरूलाई ठूलो नोक्सानी भएको छ। दशैंअघि सामान नेपाल आइपुग्छ कि भनेर निरन्तर समन्वय भइरहेको छ।’
यसरी दशैंको मुखमै कन्टेनर आपूर्ति अवरुद्ध हुँदा तयार वस्तु र कच्चा पदार्थ दुबै प्रभावित भएको र व्यापारीहरू ठूलो मारमा परेको देखिन्छ।