गृहपृष्ठ नेपाल बैंकका पूर्व अध्यक्षमाथि ७४ लाख घुस प्रकरण: अख्तियारले विशेष अदालतमा दायर गर्‍यो मुद्दा

नेपाल बैंकका पूर्व अध्यक्षमाथि ७४ लाख घुस प्रकरण: अख्तियारले विशेष अदालतमा दायर गर्‍यो मुद्दा


३०  जेठ, काठमाडौं ।
नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७४ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार अधिकारीले भैरहवामा सञ्चालनको तयारीमा रहेको ‘र्‍याडिसन प्रोजेक्ट’लाई ऋण उपलब्ध गराउने प्रक्रियामा १९ लाख रुपैयाँ घुस लिएका थिए। भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसालले ऋण प्रक्रिया अघि बढाएको अवस्थामा अधिकारीले घुस मागेको खुलेको हो। उनीबीच व्‍हाट्सएपमार्फत कुराकानी र प्रत्यक्ष भेटघाटसमेत भएको अख्तियारको दाबी छ।

गत माघमा अख्तियारले अधिकारीको निवासमा छापा मार्दा घुसस्वरूपको रकम बरामद भएको थियो। ती रकम अधिकारीका सवारीचालक नसीब अन्सारीमार्फत लुकाइएको अवस्थामा भेटिएको बताइएको छ।

त्यसै क्रममा आयोगले अधिकारी, उनका चालक अन्सारी, भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल, उनका छोरा अंकित भुसाल र अमृत भुसालविरुद्ध पनि मुद्दा दायर गरेको छ।

मंगलबार थप दुई नयाँ आरोपसहित अख्तियारले विशेष अदालतमा पुनः मुद्दा दायर गरेको छ। तीमध्ये पहिलो आरोप अनुसार अधिकारीले हिमाल-तराई कन्स्ट्रक्सन प्रालिलाई ऋण दिने क्रममा ५ लाख रुपैयाँ घुस लिएको छन् भने दोस्रो आरोपमा सोही कम्पनीलाई ऋण दिने प्रक्रियामा थप ५० लाख रुपैयाँ घुस लिएको उल्लेख छ।

यससँगै अधिकारीमाथि हालसम्म तीनवटा छुट्टाछुट्टै घटनाबाट ७४ लाख रुपैयाँ घुस लिएको गम्भीर आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु