गृहपृष्ठ राजस्थानविरुद्ध कोलकाताको दबदबा, ८ विकेटको सहज जित
राजस्थानविरुद्ध कोलकाताको दबदबा, ८ विकेटको सहज जित
काठमाडौं, १४ चैत – क्विन्टन डिककको अविजित ९७ रनको उत्कृष्ट प्रदर्शनले कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित दिलाएको छ।
बुधबार भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्यो। राजस्थानले दिएको १५२ रनको लक्ष्य कोलकाताले १७.३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर डिककले विस्फोटक ब्याटिङ गर्दै ६१ बलमा ८ चौका र ६ छक्कासहित अविजित ९७ रन बनाए।
अङक्रिश रघुवंशी २२ रनमा नटआउट रहे भने कप्तान अजिन्क्या रहानेले १८ रन जोडे। राजस्थानका लागि वानिन्दु हसरंगाले एक विकेट लिए।
यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो। ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २५ रन जोडे।
कोलकाताका लागि हर्शित राना, मोइन अली, वैभव अरोरा र वरुण चक्रवर्तीले समान २-२ विकेट लिए भने स्पेन्सर जोनसनले १ विकेट झारे।
यो जितसँगै कोलकाताले २ खेलबाट २ अंक जोड्दै अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ। राजस्थान भने लगातार दोस्रो खेलमा पराजित भएको छ।









