गृहपृष्ठ सुप्रीम सहकारी प्रकरणमा रवि लामिछाने पुनः थुनामै रहने जिल्ला अदालतको आदेश

सुप्रीम सहकारी प्रकरणमा रवि लामिछाने पुनः थुनामै रहने जिल्ला अदालतको आदेश


२६ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जिल्ला अदालत रुपन्देहीले जारी गरेको छ। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले आइतबार उक्त आदेश दिएको हो।

सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन्। उनले आफू सहकारी ठगीमा संलग्न नरहेको दाबी गर्दै, बचतकर्ताको रकम फिर्ता गर्ने जिम्मा लिन तयार रहेको र आफ्नो भागको बिगोबापतको जमानत रकम बुझाइसकेकाले रिहा गर्नुपर्ने मागसहित साउन १९ गते अदालतमा निवेदन दिएका थिए।

उनको निवेदनमा सुनुवाइका क्रममा लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतसमेत पेश गरेका थिए। तर, अदालतले यो माग अस्वीकार गर्दै, पुर्पक्षका लागि थुनामै रहने आदेश दिएको हो।

सुप्रीम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पनि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले यथावत् राखेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु