गृहपृष्ठ दाउन्ने सडक खण्ड आंशिक रूपमा सञ्चालनमा, एकतर्फी यातायात सुरु
दाउन्ने सडक खण्ड आंशिक रूपमा सञ्चालनमा, एकतर्फी यातायात सुरु
१६ जेष्ठ २०८२, शुक्रबार
बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकैको दाउन्ने सडक खण्ड शुक्रबार राति २ बजेदेखि अवरुद्ध बनेपछि शनिबार बिहानबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ। खोलामा आएको बाढीका कारण सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको यो खण्ड पूर्ण रूपमा ठप्प भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक अमृत भण्डारीका अनुसार, बिहान ६ बजेबाट मर्मत कार्य सुरु गरिएको थियो। तत्कालका लागि एकतर्फी रूपमा सवारी सञ्चालन गर्दै ट्राफिक व्यवस्थापन गरिएको र पूर्ण मर्मत कार्य निर्माण कम्पनीमार्फत आगामी दिनमा निरन्तर गरिने उनले जानकारी दिए।
भासिएको सडक खण्डको छेउमै विद्युत पोल रहेकाले मर्मत कार्यमा थप कठिनाइ भएको छ। विद्युत प्राधिकरणसँगको समन्वयमा काम भइरहेको भण्डारीले बताए।
उक्त क्षेत्रमा गत साता परेको वर्षाका कारण भासिएको स्थानभन्दा करिब ५० मिटर पूर्वतर्फ पनि झन्डै ११ घण्टा सडक अबरुद्ध भएको थियो।
सामान्य वर्षामा समेत बारम्बार सडक भासिँदै आएपछि यातायातमा समस्या भएको छ। खुर्सानी खोलामा निर्माण गरिएको पुल र त्यसअगाडि–पछाडिको सडक ढलान पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा सवारी साधनहरू डाइभर्सन हुँदै गुडिरहेका छन्। तर, अस्थायी डाइभर्सनमार्फत सञ्चालन गरिएको सडकले पानी थेग्न नसक्दा पटकपटक भासिनु परेको छ। यसले यात्रुहरू र सवारी साधनलाई नियमित रूपमा सास्ती बेहोर्न बाध्य बनाएको छ।









