गृहपृष्ठ बागमती खोलाले बगाएको पहुँच मार्ग पुनर्निर्माणपछि कान्ति लोकपथ सञ्चालनमा
बागमती खोलाले बगाएको पहुँच मार्ग पुनर्निर्माणपछि कान्ति लोकपथ सञ्चालनमा
हेटौँडा, मकवानपुर — बागमती खोलामा आएको बाढीले बगाएको पहुँच मार्ग मर्मत गरी अवरुद्ध भएको कान्ति लोकपथ फेरि सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण बिहीबार बिहान बगुवा क्षेत्रमा खोलाले ड्राइभर्सनमा बनाइएको ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोही स्थानमा पुनः डाइभर्सन निर्माण गरी बिहीबार रातिदेखि सवारी साधन सञ्चालनमा ल्याइएको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार भीमफेदी गाउँपालिका–८ अन्तर्गत बगमती खोलाको पहुँच मार्ग पुनः निर्माण गरिएपछि सडक सञ्चालनमा आएको हो।
त्यस्तै, सो सडकखण्डअन्तर्गत भर्याङ डाँडामा खसेको सुख्खा पहिरो पनि हटाइएको प्रहरीको भनाइ छ।
यसअघि, गत असोज १० देखि १२ गतेसम्मको वर्षाले बगमती खोलामा आएको बाढीले बगुवा क्षेत्रको बेलिब्रिजतर्फ जाने पहुँच मार्ग बगाएको थियो। त्यसयता उक्त स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी सवारी सञ्चालन हुँदै आएको थियो।









