गृहपृष्ठ भारत–पाकिस्तानबीच स्वतन्त्र प्रेसमाथि बन्देज, ‘द वायर’ को प्रसारणमा अवरोध
भारत–पाकिस्तानबीच स्वतन्त्र प्रेसमाथि बन्देज, ‘द वायर’ को प्रसारणमा अवरोध
काठमाडौं — पाकिस्तानसँगको तनाव चुलिँदै गएको बेला भारत सरकारले आफ्नै मुलुकभित्र स्वतन्त्र प्रेसमाथि दबाब सिर्जना गरेको आरोप लागेको छ। स्वतन्त्र पत्रकारिताका लागि चिनिँदै आएको प्रतिष्ठित डिजिटल मिडिया द वायर ले आफ्नो वेबसाइट र सामग्री भारतभर अवरुद्ध गरिएको जनाएको छ।
द वायर ले एक विज्ञप्ति जारी गर्दै भारत सरकारको निर्देशनमा इन्टरनेट सेवा प्रदायकहरूले आफ्ना सामग्रीहरू अवरुद्ध गरेको दाबी गरेको छ। संस्थाले यो कदमलाई संविधान, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारविपरीत भन्दै कडा विरोध जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “सरकारको यस्तो कदम लोकतान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारितामाथिको प्रहार हो। हामी कानुनी लडाइँ लड्नेछौं र नागरिकहरू, पाठक, र प्रेस स्वतन्त्रता पक्षधर सबैसँग ऐक्यबद्धताको आग्रह गर्छौं।”
सञ्चार मन्त्रालयको निर्देशनअनुसार अवरोध गरिएको अनुमान गरिएको छ, यद्यपि सरकारको तर्फबाट आधिकारिक स्पष्टीकरण आएको छैन। विभिन्न इन्टरनेट सेवा प्रदायकहरूले भने अवरोधको कारणबारे स्पष्ट जानकारी नदिएको द वायर ले उल्लेख गरेको छ।
द वायर को स्थापना भेट्रान पत्रकारहरू सिद्धार्थ बर्धराजन, सिद्धार्थ भाटिया, एम.के. बेणु र सीमा चिश्तीजस्ता वरिष्ठ सञ्चारकर्मीहरूको पहलमा भएको थियो। यो मिडियालाई वामपन्थी झुकाव भएको मानिँदै आए पनि यसको मुख्य विशेषता स्वतन्त्र, अनुसन्धानमुखी र सत्ता आलोचक पत्रकारिता हो। भारतमा पछिल्लो समय स्वतन्त्र प्रेसमाथि नियन्त्रण बढ्दै गएको, र तथाकथित ‘गोदी मिडिया’ को प्रभाव विस्तार हुँदै गएको विश्लेषणहरू भइरहेका छन्।










