गृहपृष्ठ दार्चुलामा महालक्ष्मी विकास बैंकमा दुई करोड ८४ लाख हिनामिना, चार कर्मचारी पक्राउ

दार्चुलामा महालक्ष्मी विकास बैंकमा दुई करोड ८४ लाख हिनामिना, चार कर्मचारी पक्राउ


मंगलबार, साउन २७

 काठमाडौं — दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरस्थित महालक्ष्मी विकास बैंक लिमिटेडको रकम हिनामिनासम्बन्धी सूचना केन्द्रीय कार्यालयसम्म पुगेपछि, दरबारमार्गस्थित अन्नपूर्ण आर्केडमा रहेको बैंकको मुख्य कार्यालयले गोप्य रूपमा अनुगमन टोली खटाएको छ।

काठमाडौंबाट २३ साउनमा सुटुक्क दार्चुला पुगेको टोलीले शाखालाई पूर्वसूचना नदिई छानबिन सुरु गर्‍यो। “काठमाडौंबाट अनुगमनका लागि आएको थाहा पाउँदा केही कर्मचारी सुरुमा नै हच्किएका थिए। त्यसपछि हाम्रो सूचना सही हुनसक्ने विश्वास थप मजबुत भयो,” एक अधिकृतले बताए।

छानबिन क्रमशः अघि बढ्दै जाँदा ठूलो मात्रामा रकम हिनामिनाको तथ्य खुल्यो। समितिको प्रारम्भिक निष्कर्षअनुसार, दुई करोड ८४ लाख ७६ हजार ९०२ रुपैयाँ गैरकानूनी रूपमा भुक्तानी दिइएको र बैंकलाई हानी पुर्‍याइएको पाइएको हो।

घटनाबारे २३ साउनकै दिन जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहाललाई औपचारिक रूपमा जानकारी दिइयो र उजुरी दर्ता गरियो। भोलिपल्ट २४ साउनमा, केन्द्रीय कार्यालयबाट गएको टोलीको प्रतिवेदनका आधारमा चार जना पक्राउ परे।

डीएसपी दाहालका अनुसार पक्राउ पर्नेहरूमा—

  • निर्मला साउद (२९ वर्ष), दार्चुला, शैल्यशिखर–३, बैंकको नगद विभाग

  • अम्बादत्त पन्त (२८ वर्ष), बैतडी, पुर्चौडी–३, ग्राहक सहायता कक्ष

  • सागर शाही (३५ वर्ष), कैलाली, भजनी–७, शाखा प्रबन्धक

  • धनन्जय पन्त (३१ वर्ष), दार्चुला, लेकम–१, कर्जा विभाग

“बैंकबाट जानकारी मिल्नेबित्तिकै हामीले पक्राउ गरी अनुसन्धान सुरु गरेका हौं। हालसम्म बैंककै आन्तरिक छानबिनले रकम हिनामिना भएको देखिएको छ, तर हाम्रो औपचारिक अनुसन्धान भर्खर सुरु भएको छ,” डीएसपी दाहालले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु