गृहपृष्ठ अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश : ‘युवाहरू वर्तमानमै राष्ट्र निर्माणका शक्ति
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश : ‘युवाहरू वर्तमानमै राष्ट्र निर्माणका शक्ति
मङ्गलबार, २७ साउन
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई केवल भविष्यका नेतृत्वकर्ता मात्र नभई वर्तमानमै राष्ट्र निर्माणका महत्वपूर्ण शक्ति भएको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले युवाहरूको ऊर्जाशीलता, सृजनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षा नै समृद्ध र समाजवादी नेपाल निर्माणको आधार भएको उल्लेख गरे।
उनले भने, “गरिबी, असमानता, जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौती समाधान गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र त्यसपछिको अवस्थाका लागि पनि युवा समुदायको पहल महत्त्वपूर्ण छ। यस वर्षको नाराले पनि यही सन्देश दिन्छ, नेपाली युवाहरू सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा अडिग रहून् भन्ने विश्वास लिएको छु।”
प्रचण्डले आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै भने, “म स्वयं युवावस्थामा युवा सङ्घको अध्यक्ष हुँदै पार्टीको सर्वोच्च नेतृत्वमा पुगेँ। ऐतिहासिक जनयुद्धको नेतृत्व गर्दै हजारौँ युवाको रगत, पसिना र बलिदानको बलमा सामन्तवाद अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो। यसले मात्र राजनीतिक व्यवस्थामा परिवर्तन ल्याएन, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धि पनि दिलायो।”
उनले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको दाबी गरे। त्यस क्रममा उनले युवा स्वरोजगार कोष स्थापना गरेर हजारौँ युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरिएको, राष्ट्रिय युवा परिषद् गठन गरी युवाको हक, अधिकार र सहभागितालाई संस्थागत गरिएको, युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरी सीप, तालिम र लगानीको पहुँच दिलाइएको तथा स्टार्टअप प्रोत्साहन अभियानमार्फत नवप्रवर्तन गर्ने युवालाई आर्थिक तथा बजार पहुँच उपलब्ध गराइएको उल्लेख गरे।
सन्देशको अन्त्यमा उनले सम्पूर्ण युवाहरूलाई आफ्नो सीप, ऊर्जा र विचार जनताका पक्षमा, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि लगाउन आह्वान गरे।










