गृहपृष्ठ विपिन जोशीको रिहाइका लागि आमाबहिनी इजरायल पुगे, संयुक्त राष्ट्रसंघसम्म आवाज पुर्याउने तयारी
विपिन जोशीको रिहाइका लागि आमाबहिनी इजरायल पुगे, संयुक्त राष्ट्रसंघसम्म आवाज पुर्याउने तयारी
तेल अविव — कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका २२ वर्षीय नेपाली विद्यार्थी विपिन जोशी हमास लडाकु समूहको कब्जामा परेको २२ महिना पूरा भइसकेको छ । अब उनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना गर्न इजरायल सरकारले विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीलाई विशेष पहलस्वरूप इजरायल बोलाएको छ ।
सोमबार बेलुकी दुबईमार्फत तेल अविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदै गर्दा दुवै जना आमाबहिनीका अनुहारमा आशा र पीडाको मिश्रित भाव झल्किन्थ्यो । विमानस्थलमा उपस्थित विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आमा पद्माले रुँदै भनिन् —
“हामी विपिनलाई लिन आएका हौं । कृपया मेरो छोरालाई सकुशल मुक्त गरिदिनुस् । यो मेरो सबैमा विनम्र अनुरोध हो ।”
पुष्पाले पनि आँसु रोक्न सकिनन् । उनले भनिन् —
“हामी टाढाको नेपालबाट यहाँ आएका हौं । मेरो दाजु पढ्नका लागि मात्र आएको हो, हाम्रो कसैसँग दुस्मनी छैन । कृपया उहाँलाई बिनासित्ती नराख्नुस् ।”
उच्चस्तरीय भेटघाट र संयुक्त राष्ट्रसंघमा अपिल
इजरायली विदेश मन्त्रालयका अधिकारी, नेपालका लागि पूर्वराजदूत हानन गोदार, इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित र स्थानीय नेपाली समुदायले विमानस्थलमै आमाबहिनीलाई स्वागत गरे । इजरायली अधिकारीहरूले उनीहरूलाई प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख र हमासविरुद्धको कारबाहीमा संलग्न कमान्डहरूसँग भेट गराउने र विपिनलाई अपहरण गरिएको दक्षिण इजरायलको किबुजमा लगेर घटनाको विवरण दिने योजना बनाएको जनाएका छन् ।
त्यसपछि इजरायलको पहलमा आमाबहिनीलाई संयुक्त राष्ट्रसंघमा उपस्थित गराई विपिनसहित बाँकी ५० जना बन्धकको तत्काल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने तयारी छ ।
हमासको आक्रमण र विपिनको वीरता
२०२३ अक्टोबर ७ मा हमासले दक्षिण इजरायलका किबुजहरूमा आक्रमण गर्दा १,२०० जनाको मृत्यु भएको थियो । २५१ जनालाई बन्धक बनाइएकोमा अझै ५० जनाको रिहाइ भएको छैन । आक्रमणको क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययन गर्न इजरायल गएका विपिनले हमास लडाकुको ग्रिनेड फिर्ता प्रहार गरेर कयौंको ज्यान बचाएका थिए । त्यसपछि उनी घाइते अवस्थामा अपहरणमा परे ।
‘इजरायल स्पेसल फोर्स’ का क्याप्टेन नादभ बेन याहुदाले भने —
“विपिन नेपाली र इजरायली दुवैका लागि हिरो हुन् । उनको रिहाइका लागि कुनै कसर बाँकी राख्दिनौं । सफल भएपछि म आफैं काठमाडौं ल्याएर दिनेछु ।”
राजनीतिक–कूटनीतिक पहल
नेपाल सरकारले पनि विपिनको रिहाइका लागि कूटनीतिक प्रयास गर्दै आएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्रीमार्फत हमाससँग कुरा गराउन आग्रह गरिसकेकी छन् । तर, अहिलेसम्म हमास वा इजरायली पक्षबाट विपिनको अवस्थाबारे प्रष्ट जानकारी आएको छैन ।
राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली अधिकारीहरूले अझै २० भन्दा बढी बन्धक जीवित रहेको अनुमान गरेका छन्, तर निश्चित तथ्याङ्क सार्वजनिक भएको छैन ।
नयाँ सैन्य कारबाहीको पृष्ठभूमि
गत बिहीबारदेखि इजरायलले गाजा क्षेत्रमा पूर्ण नियन्त्रणको घोषणा गर्दै सैन्य कारबाही तीव्र पारेको छ । प्रधानमन्त्री नेतान्याहुले ‘हमासमुक्त गाजा’ को घोषणा गर्दै बन्धकहरूलाई फिर्ता ल्याउने प्रतिवद्धता दोहोर्याएका छन् ।
आशा र प्रतीक्षा
उडानअघि काठमाडौंस्थित इजरायली राजदूत शमुलिक एरी बासले विमानस्थलमै पुगेर जोशी आमाबहिनीलाई बिदाइ गरेका थिए । दुबई ट्रान्जिटका बेला पुष्पाले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै लेखिन् —
“हामी दाजुको सकुशल रिहाइको प्रतीक्षामा छौं । कृपया निरन्तर समर्थन र प्रार्थना गरिराख्नुहोस् ।”
विपिनको कथा अहिले केवल एक परिवारको पीडामा सीमित छैन — यो मानवीय संवेदनशीलता, अन्तर्राष्ट्रिय राजनीति र बन्धक कूटनीतिको कठिन परीक्षणको प्रतीक बनेको छ ।















