गृहपृष्ठ पश्चिम नेपाल बस व्यवसायीको साधारण सभा अठार गते सम्पन्न हुने ।
पश्चिम नेपाल बस व्यवसायीको साधारण सभा अठार गते सम्पन्न हुने ।
चैत १८ , २०८२
मीना ढकाल
बुटवल – पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को छैटौँ वार्षिक साधारण सभा पाँच दिनसम्म चल्ने गरी १४ गतेदेखि सुरु भएको छ र १८ गते सम्पन्न हुने भएको छ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले रूपान्तरणपछि छैटौँ वार्षिक साधारण सभा फरक ढंगले सञ्चालन गरिरहेको छ। विभिन्न रुटका आधारमा सदस्य व्यवसायीहरूलाई छुट्टाछुट्टै आमन्त्रण गरी पाँच दिनसम्म सभा सञ्चालन गरिएको हो।
नेपालकै सबैभन्दा ठूलो यातायात व्यवसायी संस्था मानिने यस संस्थामा व्यवसायीहरूको जिज्ञासा, गुनासा र सुझाव सुन्ने उद्देश्यले यसपटक फरक तरिकाले सभा आयोजना गरिएको अध्यक्ष दधिराम खरेलले बताए।
हाल संस्थामा २२ सयभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन्। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा दक्षिण बेलहियादेखि उत्तर मुस्ताङसम्म पक्की तथा कच्ची सडक, पहाडी तथा हिमाली क्षेत्रमा समेत निरन्तर सेवा दिँदै आएको छ।
संस्था २०४६ सालमा स्थापना भएको थियो भने २०७६ साल जेठ १५ गते प्रा.लि.मा रूपान्तरण भएको हो।
संस्थाले यात्रु सेवा विस्तार गर्दै यात्रु सुरक्षालाई प्राथमिकता दिएको छ। पछिल्लो समय दुर्घटना न्यूनीकरण अभियानका कारण मानवीय तथा भौतिक क्षतिमा कमी आएको बताइएको छ।
संस्थाले चालक तथा मजदुरको भविष्य सुरक्षित गर्न सहकारीमार्फत बचत तथा सहयोग कार्यक्रम पनि सञ्चालन गरेको छ।
विभिन्न संघसंस्था तथा सरोकारवालासँग सहकार्य गर्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउने प्रयास भइरहेको छ। डिजिटल प्रणालीमार्फत प्रशासनिक कामलाई आधुनिक बनाउने, कर्मचारी व्यवस्थापन सुधार गर्ने र पारदर्शिता बढाउने कार्य भइरहेको छ।
अघिल्ला वर्षहरूमा नीति, नियम, इन्धन मूल्यवृद्धि तथा प्रतिस्पर्धाका कारण चुनौती भए पनि सेवा सुधार र यात्रु सुरक्षामा संस्था प्रतिबद्ध रहेको जनाएको छ।
साधारण सभाको तालिका (संक्षेप)
१४ गते: विभिन्न रुटका करिब ५३७ जना सहभागी
१५ गते: करिब ३९८ जना सहभागी
१६ गते: करिब ४०५ जना सहभागी
१७ गते: करिब ४२७ जना सहभागी हुने
१८ गते: करिब ४७८ जना सहभागी हुने










