गृहपृष्ठ ‘नेपाली कांग्रेस सबै जातजातिको विश्वासको केन्द्र हो’ — सभापति देउवा
‘नेपाली कांग्रेस सबै जातजातिको विश्वासको केन्द्र हो’ — सभापति देउवा
श्रावण ३०, २०८२
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपाली कांग्रेस आफ्नो आदर्श, मूल्य र मान्यताअनुरूप राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा पिछडिएका क्षेत्र र वर्गको सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेको बताए।
देउवाले मगरलाई आदिवासी जनजाति समुदायभित्रको सबैभन्दा ठूलो जनसंख्या भएको समुदायका रूपमा उल्लेख गर्दै भने, “तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले लोकतान्त्रिक धारणा राख्ने मगरलाई संगठित गर्न बलियो भ्रातृ संस्था आवश्यक देखेर २०६४ सालमा नेपाल राष्ट्रिय मगर संघ गठन गरिएको हो।”
उनका अनुसार मगर संघले पार्टीका अन्य संस्थाभन्दा अगाडि संघीय संरचना अनुसार संगठन विस्तार गरी दोस्रो महाधिवेशन सम्पन्न गरेको थियो। अब मगर समुदायमा पार्टीको नीति, विचार र सिद्धान्त पु¥याउने र उनीहरूको आवाजलाई पार्टीको आवाजमा रूपान्तरण गर्ने जिम्मेवारी अझ बढेको उनले बताए।
देउवाले संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारले २०१६ सालको बजेटमार्फत प्राथमिक तहसम्म मातृभाषामा अध्ययन–अध्यापनका लागि बजेट विनियोजन गरी विभिन्न भाषाको संरक्षण र संवर्द्धनको सुरुवात गरेको स्मरण गरे। आफ्नो नेतृत्वमा रहेको सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरेर समावेशीकरणमा थप योगदान गरेको उनले उल्लेख गरे।
पार्टीभित्र पछाडि परेका जातजाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसले ‘कदमजम’ अभियान सञ्चालन गरेको उनले बताए। यस अभियानमार्फत कर्णाली, दलित, महिला, जनजाति र मधेसी समुदायको अधिकार र सहभागिता सुनिश्चित गरिएको दाबी उनले गरे।
“मगर समुदाय पार्टी नेतृत्वमा थोरै प्रतिनिधित्व रहेको वर्तमान अवस्थालाई बदल्दै पर्याप्त प्रतिनिधित्व हुनेगरी नेतृत्व स्थापित गराउन म सहयोग र समर्थन गर्नेछु,” उनले प्रतिवद्धता जनाए। देउवाले कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनविरुद्ध सहादत प्राप्त गरेका लखन थापामगरलाई प्रथम सहिद घोषणा गरेको तथ्य पनि स्मरण गरे।
उनका अनुसार कांग्रेसले प्राप्त ऐतिहासिक उपलब्धिहरू—गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा अडिग रहनेछ।
नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आउँदो शनिबार सम्पन्न हुने कार्यक्रम तय गरेको छ।











