गृहपृष्ठ माधव–झलनाथबीच सार्वजनिक आरोप रोक्ने सहमति

माधव–झलनाथबीच सार्वजनिक आरोप रोक्ने सहमति


२७ साउन, काठमाडौं।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच आपसी आरोप–प्रत्यारोपलाई सार्वजनिक रूपमा नगर्ने भद्र सहमति भएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा वरिष्ठ नेता वेदुराम भुसाल, प्रमेश हमाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालसहितको छलफलमा दुवै नेताले विधान र आचारसंहिताभित्र रहेर मात्र बोल्ने सहमति जनाएका हुन्।

यसअघि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालबीच आपसी कटाक्ष र आरोप तीव्र हुँदै गएको थियो। खनालले चार वर्षअघि भएको विद्रोह पुष्टि हुन नसकेको भन्दै सार्वजनिक अन्तर्वार्ता दिएका थिए भने नेपालले उनलाई पार्टी छोडेर एमालेमा जान सुझाव दिएका थिए। त्यसपछि खनालले समेत माधव नेपालका लागि “उपयुक्त पार्टी एमाले नै हो” भन्ने प्रतिक्रिया दिएका थिए।

आरोप–प्रत्यारोप चर्किँदै गएपछि नेताहरूको पहलमा सोमबार बिहान साढे दुई घण्टा लामो छलफल भएको थियो। यसअघि शनिबार पनि वार्ता भएको भए पनि अध्यक्ष नेपालको जनकपुर यात्रा कारण स्थगित भएको थियो। छलफलमा अध्यक्ष नेपालले पार्टीका संवेदनशील विषय बैठकमै उठाउनुपर्ने र अन्तर्वार्ता मार्फत सार्वजनिक नगरिने सुझाव दिए, जसमा खनालले पनि सहमति जनाए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु