गृहपृष्ठ रुपन्देही ३ मा रास्वपाको प्राइमरी इलेक्सन भदौ १२–१३ मा, ९ उम्मेदवारबीच प्रतिस्पर्धा
रुपन्देही ३ मा रास्वपाको प्राइमरी इलेक्सन भदौ १२–१३ मा, ९ उम्मेदवारबीच प्रतिस्पर्धा
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ का लागि उम्मेदवार चयन गर्न भदौ १२ र १३ गते प्राइमरी इलेक्सन गर्ने भएको छ। आवेदन दिएका सबै ९ जना आकांक्षी यस प्रतिस्पर्धामा उत्रिनेछन्।
रास्वपा लुम्बिनी इन्चार्ज विपिन आचार्यका अनुसार, मतदाता परिचयपत्र बोकेर पार्टीका विभिन्न समिति सदस्य तथा केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउनेछन्। प्राइमरीको नतिजा सार्वजनिक गर्दै भदौ १५ गते आधिकारिक उम्मेदवार घोषणा गरिनेछ।
प्रतिस्पर्धामा मधुप्रसाद अर्याल, डा. लेखजंग थापा, कुसुम महर्जन, पार्थबेन्द्र उपाध्याय, ज्ञानु पौडेल, रचना क्षेत्री, सुलभ खरेल, पुनम कुमारी अग्रवाल र जितबहादुर गुप्ता छन्।
यसअघि ९ आकांक्षीबीच आपसी छलफल गराएर सर्वसम्मत उम्मेदवार तय गर्ने प्रयास भए पनि सहमति जुटेन। तर, सबै आकांक्षीले टिकट नपाए पनि बागी नउठ्ने र आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेका छन्।
आचार्यका अनुसार साउन २७ देखि भदौ ११ गतेसम्म उम्मेदवार आकांक्षीहरुलाई विभिन्न मापदण्डमा परीक्षण गरिनेछ।










