गृहपृष्ठ सार्वजनिक यातायात बन्द हुँदा पोखरामा राइड सेयरिङ व्यस्त, यात्रुलाई सहज सेवा
सार्वजनिक यातायात बन्द हुँदा पोखरामा राइड सेयरिङ व्यस्त, यात्रुलाई सहज सेवा
जेठ १६
पोखरा — पोखरामा राइड सेयरिङ र सेल्फ ड्राइभ गर्दै आएका राइडरहरू शुक्रबार बिहानैदेखि यात्रुलाई एकछत्र सुविधा दिइरहेका छन्।
राइड सेयरिङलाई गण्डकी प्रदेश सरकारले कानुनी मान्यता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेपछि राइडरहरू अरूबेलाभन्दा आज व्यस्त देखिन्छन्।
राइड शेयरिङ एफमा अरू दिनभन्दा आज धेरै यात्रु आइरहेको पोखराका राइडर सुरज क्षेत्रीले बताए। अरू दिनमा जस्तो यात्रु पर्खेर बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। ‘बस बन्द हुँदा राइडिङ एपमा धेरै यात्रुहरू आउनुभएको छ, पर्खेर बस्नुपरेको छैन,’ उनले भने।
राइडरहरूलाई पनि आज भ्याइनभ्याई भएको उनले बताए।
चिप्लेढुङ्गाबाट मोटरसाइकलमा यात्रु काजीपोखरी लगिरहेका सुरजले यातायात व्यवसायीले सार्वजनिक बस बन्द गरे पनि राइडरले सुविधा नरोकेको बताए।
अर्का राइडर पदम नेपालले पनि यात्रुले खोजेका बेला अनलाइनमा राइडर भेटिने बताए
‘हाम्रा सुविधाअनुसार मात्र राइडिङमा जानु भएन नि!,’ रानीपौवाबाट बगर जाँदै गरेका राइडर नेपालले भने, ‘यात्रुले दु:ख पाएका बेला पनि हामीले साथ दिनुपर्छ।’
राइड सेयरिङ एपमा उल्लेखित शुल्क लिएर निर्धक्क यात्रुलाई सेवा दिन राइडरलाई आह्वान गरेको राइडर्स नेपालका संयोजक अनिल श्रेष्ठले बताए। उनले यात्रुलाई सुविधा दिनु नै राइड सेयरिङको उदेश्य भएकाले सार्वजनिक सवारी बन्द भएका बेला यात्रुलाई अलपत्र हुन नदिन राइडर्सलाई आग्रह गरेको बताए।









