२०८२ साउन २९
दार्चुला — शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिकलगायत लाभग्राहीको नवीकरण कार्य ठप्प छ। सरकारले बायोमेट्रिक प्रमाणीकरण अनिवार्य गरेपछि इन्टरनेट अभावले वडामा सेवाग्राही दिनहुँ फर्किन बाध्य भएका छन्।
वडा नं. १ का सचिव शेरसिंह खडायतले इन्टरनेट विना बायोमेट्रिक असम्भव भएको बताए। “दुईवटा वडाको जिम्मेवारी छ, तर इन्टरनेट छैन। सेवाग्राहीले गुनासो मात्र गर्छन्। स्थानीय सरकारले पनि समस्या समाधानमा चासो दिएको छैन,” उनले भने 
वडा नं. ७ का सचिव भुपेन्द्रप्रसाद जोशीले पनि यस्तै समस्या बताए। “वडामा राम्रो ल्यापटप छैन, इन्टरनेट छैन, मोबाइल नेटवर्क दयनीय छ। कार्यालय बाहिर मोबाइल झुण्ड्याएर मात्र नेटवर्क पाइन्छ, दुईवटा मोबाइल खसेर बिग्रिसके,” उनले गुनासो गरे। उनका अनुसार गत वर्ष मोबाइल डाटा प्रयोग गर्दा मात्र पाँच हजार रुपैयाँ खर्च भएको थियो, तर अहिले त्यो विकल्प पनि छैन।
नगरपालिकाका नौ वडामध्ये वडा नं. ४, ५, ७ र ८ मा मोबाइल डाटा नै काम नगर्ने एमआइएस अपरेटर राजमती खडायतले बताइन्। अन्य वडामा पनि नेटवर्क कमजोर छ। “इन्टरनेट र ल्यापटप विना बायोमेट्रिक नवीकरण सम्भव छैन। ढिलाइ भए ज्येष्ठ नागरिक भत्ताबाट बञ्चित हुनेछन्,” उनको भनाइ छ।
वडा नं. २ का सचिव मनोरथप्रसाद भट्टका अनुसार, “बुढा आमाबुबालाई बोकेर ल्याउँदा पनि इन्टरनेट नचल्दा सेवा दिन नसक्ने अवस्था छ,” जसले सेवाग्राहीलाई झन् पीडा थपेको छ।
नगरपालिकाका सूचना अधिकारी भोजराज भट्टले समस्या पटकपटक उठाइए पनि समाधान नभएको बताए। “भौतिक पूर्वाधार विस्तार हुँदै छ तर इन्टरनेट र उपकरणको समस्या अझै कायम छ,” उनले भने।
नगर प्रमुख विजयसिंह धामीका अनुसार नेपाल टेलिकमसँग समस्या समाधानका लागि आग्रह गरिए पनि नटारेको बताए। “सबै वडामा फाइबर तान्न आर्थिक अवस्था छैन, निजी इन्टरनेट पनि प्रभावकारी भएन,” उनले भने। ल्यापटप अभावबारे आफूलाई जानकारी नभएको जनाउँदै उनले “कार्यालय सञ्चालन खर्चबाट खरिद गरेर पनि समाधान गर्न सकिन्थ्यो” भने।









