गृहपृष्ठ पूर्व प्रधानमन्त्री ओली पक्राउ, अनुसन्धान सुरु

पूर्व प्रधानमन्त्री ओली पक्राउ, अनुसन्धान सुरु


चैत १४ , २०८२

काठमाडौँ — केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसअघि नै पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकिएको छ। उनीहरूलाई जेन–जी आन्दोलन दमनका क्रममा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले उक्त कदम चालेको हो। आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो।

प्रहरी स्रोतका अनुसार, पक्राउका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगाना प्रहरी प्रधान कार्यालय पुगेका थिए।

घटनापछि उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेर स्थिति नियन्त्रणमा राख्न निर्देशन दिएका छन्।

मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाही वा हेलचक्र्याइँका कारण ज्यान गएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। यी धाराअन्तर्गत दोषी ठहरिए ३ देखि १० वर्षसम्म कैद र जरिवाना हुन सक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु