गृहपृष्ठ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने अर्थमन्त्रीको दाबी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने अर्थमन्त्रीको दाबी


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गरेका छन्। कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ताका रूपमा बोल्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमै विमानस्थल पूर्णरूपमा सञ्चालन गर्नका लागि महत्त्वपूर्ण निर्णयहरू भएको बताएका हुन्।

‘सुरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चाहिन्छ भन्ने विषयमै विवाद थियो, निर्माणका क्रममा पनि पूर्णता पाउला कि नपाउला भन्ने शंका व्यक्त गरिएको थियो। तर, अहिले यो विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइसकेको छ,’ उनले भने, ‘अहिले फेरि विमानस्थल पूर्णरूपमा सञ्चालन हुन सक्दैन, लगानी खेर गयो भन्ने भनाइहरू आइरहेका छन्। तर, यो सत्य होइन। हामी छिट्टै पूर्ण क्षमतामा सञ्चालन गरेर देखाउँछौं।’

उनका अनुसार हालको टर्मिनल सानो भएकाले त्यसलाई आन्तरिक टर्मिनलका रूपमा प्रयोग गरिनेछ भने अन्तर्राष्ट्रिय उडानका लागि अर्को टर्मिनल निर्माण गरिनेछ। यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालकै सबैभन्दा ठूलो र पूर्वाधारयुक्त अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न मद्दत गर्नेछ।

‘विमानस्थल सञ्चालन हुन्छ कि हुँदैन भन्ने प्रश्न अब पुरानो भइसकेको छ। नयाँ विमानस्थल सञ्चालनमा आउँदा जहिले पनि यस्ता प्रश्न उठ्ने गर्छन्। यहाँ पनि त्यही भएको हो,’ उनले भने, ‘हामीले विमानस्थल निर्माणमात्र होइन, प्रभावकारी सञ्चालनका लागि पनि योजना बनाएका छौं। यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरोकारवालाहरू र सम्बन्धित निकायहरूसँग पटक–पटक छलफल गरेका छौं। ती छलफलबाट महत्त्वपूर्ण निर्णयहरू भइसकेका छन्।’

उनले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई आकर्षित गर्न विशेष छुट सुविधासहितको प्याकेज ल्याइने जानकारी दिए। ‘यसका लागि विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग छलफल भइरहेको छ। अहिले सातामा १५ उडान भइरहेको छ। आलोचना भइरहे पनि हामी छिट्टै पूर्ण क्षमतामा सञ्चालन गरेर देखाउनेछौं,’ उनले थपे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु