गृहपृष्ठ ट्रम्पको ‘नेशनल इन्टरेस्ट’ सर्तले कसलाई छाड्यो, कसलाई रोक्यो?

ट्रम्पको ‘नेशनल इन्टरेस्ट’ सर्तले कसलाई छाड्यो, कसलाई रोक्यो?


काठमाडौँ, २२ जेठ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवासन नीतिमा कडाइ ल्याउने रणनीतिअन्तर्गत १२ मुलुकका नागरिकहरूलाई अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। सुरक्षा जोखिमलाई कारण देखाउँदै लागू गरिएको यो कदम ट्रम्प प्रशासनको आप्रवासीविरोधी नीतिको निरन्तरताको रूपमा हेरिएको छ।

प्रतिबन्धित मुलुकहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन्। यी देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लाग्नेछ।

ट्रम्प प्रशासनले आंशिक प्रतिबन्धको सूचीमा पनि बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला जस्ता मुलुकहरूलाई राखेको छ। यात्रा प्रतिबन्ध पूर्ण निषेध मात्र नभई, केही विशिष्ट श्रेणीमा आधारित आंशिक रोकसमेत लागू गरिने बताइएको छ।

फक्स न्यूजको रिपोर्टअनुसार, यो निर्णय आगामी जुन ९ देखि कार्यान्वयनमा आउनेछ। यद्यपि, ग्रीनकार्ड प्राप्त गरेका, भिसा पहिल्यै लिइसकेका, विशिष्ट भिसा श्रेणीमा पर्ने वा अमेरिकी राष्ट्रिय हितमा सेवा पुर्‍याउने व्यक्तिहरू भने यस निर्णयको प्रभावबाट बाहिर रहनेछन्।

यो नीति वैश्विक कूटनीति र मानवअधिकार सम्बन्धमा समेत बहसको विषय बनेको छ। धेरै मुलुकका नेताहरूले यस कदमलाई विभेदकारी र पक्षपातपूर्ण भन्दै आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु