गृहपृष्ठ स्वास्थ्य परीक्षण अब देशमै : प्रयोगशालाको ५०% सेवा सक्रिय, बजेट विनियोजन
स्वास्थ्य परीक्षण अब देशमै : प्रयोगशालाको ५०% सेवा सक्रिय, बजेट विनियोजन
काठमाडौं, १८ जेठ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पूर्वाधार, दक्षता र सेवा दायरा विस्तार गरी देशमै सबै प्रकारका रोग परीक्षण सुनिश्चित गर्ने दिशामा सरकार सक्रिय रहेको बताएका छन्।
नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित वृहत स्वास्थ्य शिविरमा बोल्दै मन्त्री पौडेलले आफू मन्त्री बनेपछि प्रयोगशालाको परीक्षण क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको दाबी गरे। उनका अनुसार, अघिल्लो अवस्थामा मात्र २० प्रतिशत रोगको परीक्षण सम्भव हुँदा अहिले त्यो दायरा ५० प्रतिशतसम्म पुगेको छ।
आत्मनिर्भर स्वास्थ्य प्रणालीतर्फको यात्रा
मन्त्री पौडेलले मुलुकबाहिर परीक्षण गर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने लक्ष्यसहित बजेट विनियोजन भइसकेको उल्लेख गरे। उनले भने, “अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्पूर्ण परीक्षण हुने व्यवस्था निर्माण हुँदैछ। निजी अस्पतालहरूलाई समेत सोही प्रयोगशालामा परीक्षण गराउने वातावरण बन्दै गएको छ।”
उनका अनुसार प्रयोगशालामा अघिल्लो समय बिग्रिएर प्रयोगविहीन अवस्थामा पुगेका ५५ प्रतिशत उपकरणहरू राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गरी पुनः सञ्चालनमा ल्याइएका छन्।
सार्वजनिक सेवाको पुनर्संरचना र विश्वास निर्माण
यो पहल स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता, सार्वजनिक विश्वास र सस्तो परीक्षण पहुँचतर्फको कदमको रूपमा हेरिएको छ। निजी क्षेत्र र सार्वजनिक सेवाबीचको सहकार्यमा एकरूपता ल्याउँदै गुणस्तरीय स्वास्थ्य परीक्षण सबै नागरिकलाई उपलब्ध गराउने मन्त्रालयको रणनीति स्पष्ट हुँदै गएको छ।
पत्रकारिता र सुशासनको जोड
कार्यक्रममा मन्त्री पौडेलले पारदर्शिता र सुशासनको सवालमा पत्रकारहरूको भुमिका अत्यावश्यक रहेको उल्लेख गर्दै सञ्चारकर्मीहरूलाई उत्साहित गर्ने खालका नीतिगत समर्थन आवश्यक भएको बताए। उनले ‘पारदर्शी समाज निर्माणमा पत्रकारिता अपरिहार्य माध्यम हो’ भन्ने धारणा व्यक्त गरे।








