गृहपृष्ठ २५६९औँ बुद्ध जयन्ती मनाइँदै , आज देशभर सार्वजनिक विदा
२५६९औँ बुद्ध जयन्ती मनाइँदै , आज देशभर सार्वजनिक विदा
२९ वैशाख, भैरहवा (रूपन्देही) ।
बुद्ध जयन्तीका अवसरमा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा विविध कार्यक्रम आयोजना गरिएका छन्। मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी तथा आसपासका क्षेत्रहरू रंगीचंगी बत्तीहरूले झिलिमिली पारिएको छ। सम्पूर्ण लुम्बिनी क्षेत्रलाई विशेष रूपमा सिँगारिएको छ, जसले यहाँको वातावरणलाई थप आकर्षक बनाएको छ।
विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको लुम्बिनीमा भव्य तयारी गरिएको छ। बौद्ध स्तूपा र विहारहरूलाई कलात्मक ढंगले सजाइएको छ भने लुम्बिनी विकास कोषले विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ, जसको परिणामस्वरूप लुम्बिनी अहिले सफा र मनमोहक देखिन्छ।
आज विशेष पूजाआजा, प्रार्थना तथा शान्ति र्याली आयोजना गरिएको छ। मुख्य समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए।
बुद्ध जयन्ती मनाउन देश–विदेशबाट हजारौँ श्रद्धालु लुम्बिनीमा भेला भएका छन्। भक्तजनहरूको सुरक्षालाई ध्यानमा राखी व्यापक व्यवस्था मिलाइएको छ। शान्तिपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
भट्टराईका अनुसार, प्रमुख कार्यक्रम लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुनेछ। यस वर्षको बुद्ध जयन्तीले विश्वभर फैलिएको द्वन्द्व र अशान्तिमा शान्ति, सहिष्णुता र भाइचाराको सन्देश फैलाउने अपेक्षा गरिएको छ।
लुम्बिनीको झकिझकाउ सजावटले यहाँ आगन्तुकहरूलाई शान्ति र आनन्दको विशेष अनुभूति दिलाएको प्रतिक्रिया आएको छ। यस वर्ष जयन्तीका कार्यक्रम सञ्चालनका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।









