गृहपृष्ठ भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग, विद्यार्थी संगठनदेखि संसदसम्म विरोध चर्कियो
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग, विद्यार्थी संगठनदेखि संसदसम्म विरोध चर्कियो
१३ जेठ, काठमाडौं । भिजिट भिसा काण्डको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि चर्को दबाब सिर्जना भएको छ। मंगलबार माइतीघर मण्डलमा विभिन्न युवा तथा विद्यार्थी संगठनहरूले संयुक्त प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन्।
प्रदर्शनमा अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियू, युवा संघ नेपाल, युनेम्स (युवा संगठन) र योङ कम्युनिष्ट लिग (वाईसीएल) सहितका संगठनहरू सहभागी थिए। उनीहरूले ‘नालायक गृहमन्त्री राजीनामा दे’, ‘भ्रष्ट गृहमन्त्री राजीनामा दे’, ‘दलाल सरकार मुर्दावाद’ र ‘भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गर’ जस्ता नारा लगाएका थिए।
यो विषय संसदमा पनि प्रवेश गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गरे। उनीहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राखेका छन्।
सरकारको आलोचना झनै तीव्र हुँदै गएको बेला गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई यस प्रकरणमा पक्राउ परिसकेका छन्। यो घटनाले भिजिट भिसाका नाममा भइरहेको अनियमितता र गृहमन्त्रालयको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।









