गृहपृष्ठ सप्तकोशी नदीमा बेपत्ता भएका दुई गोताखोरको खोजी कार्य तीव्र, अनुभवी टोली परिचालन

सप्तकोशी नदीमा बेपत्ता भएका दुई गोताखोरको खोजी कार्य तीव्र, अनुभवी टोली परिचालन


सुनसरी । सप्तकोशी नदीमा बिहीबार भएको प्रदेशस्तरीय विपद् सिमुलेसन अभ्यासका क्रममा बेपत्ता भएका दुई सशस्त्र प्रहरी गोताखोरको खोजी कार्य शुक्रबार बिहानैदेखि तीव्र गतिमा अगाडि बढाइएको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीस्वरूप आयोजित अभ्यास बिहीबार बिहान ७:४५ बजे सशस्त्र प्रहरी बल नेपालका विभिन्न गण तथा तालिम केन्द्रहरूसँगको संयुक्त टोलीद्वारा सुरु गरिएको थियो।

अभ्यासको क्रममा दिउँसो ३:१० बजे इलामस्थित नं. १ श्रीअन्तु गणको दरबन्दीमा रहेका र दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी तथा पर्साको नं. १३ गणबाट दरबन्दी भएर छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदीमा बेपत्ता भएका थिए।

दुवैजनाको खोजी कार्य तीव्र पारिएको छ। शुक्रबार बिहान दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डीएसपी विजय हमालको कमाण्डमा ४ जना गोताखोरसहित ३५ जनाको टोली र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिमप्राप्त २० जनाको टोली डीएसपी विपिन देशारको नेतृत्वमा परिचालित गरिएको छ।

यस्तै, थप खोजी तथा उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा पाँच जना गोताखोर बिहीबार राति १०:४५ बजे घटनास्थलतर्फ पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

भण्डारी सन् २०१२ (वि.सं. २०६९) मा बंगलादेशबाट गोताखोर तालिम लिएका अनुभवी प्रशिक्षक हुन् र त्यसयता नेपालमा सञ्चालित गोताखोर तालिमहरूमा प्रशिक्षण दिँदै आएका छन्। घटनाबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उनले, “पानीको बहाव, स्थलको अवस्था लगायतका पक्षहरू प्रत्यक्ष रूपमा नहेरी केही भन्न सकिन्न,” बताएका छन्।

सशस्त्र प्रहरीले स्पष्ट पारेअनुसार यो कुनै नियमित तालिम नभई मनसुनजन्य सम्भावित विपद् उद्दार तयारीस्वरूपको छोटो अभ्यास हो, जुन हाल देशभरकै विभिन्न स्थानमा सञ्चालन भइरहेको छ। बेपत्ता दुवैजनाले सन् २०२३/२४ (वि.सं. २०८०/८१) मा गोताखोर तालिम लिएका थिए र त्यसयता विभिन्न उद्दार कार्यमा सहभागी हुँदै आएका थिए। तर उनीहरू गोताखोर प्रशिक्षक भने होइनन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु