गृहपृष्ठ गृहमन्त्रीको पक्षमा एमालेको खुला समर्थन, संसद गतिरोधमा प्रतिपक्षीलाई दोष
गृहमन्त्रीको पक्षमा एमालेको खुला समर्थन, संसद गतिरोधमा प्रतिपक्षीलाई दोष
काठमाडौं, २२ जेठ ।
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले अघि सारेका मागहरू कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले गृहमन्त्री रमेश लेखकले संसदमै जवाफ दिन तयार रहेको अवस्थामा प्रतिपक्षले अवरोध सिर्जना गरेर जनतामाझ भ्रम फैलाउने कार्य गरिरहेको आरोप लगाए।

उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल अनुसन्धान गरिरहेको भन्दै आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म छानबिन समिति गठन नहुने बताएका छन्। संवैधानिक निकायभन्दा माथि अर्को कुनै समिति बन्न नसक्ने स्पष्ट पार्दै उनले प्रतिपक्षीको माग असंवैधानिक रहेको जिकिर गरे।
‘संविधानअनुसार अख्तियार जस्तो स्वतन्त्र निकायको अनुसन्धान जारी छ,’ बर्तौलाले भने, ‘त्यो सकिएपछि मात्र अन्य प्रक्रिया अघि बढ्न सक्छ। यसअघि समिति गठन गर्नु प्रक्रियाविपरीत हुन्छ।’
भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी जाने नेपाली नागरिकबाट रकम असुली गरिएको आरोपपछि अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईसहितका कर्मचारीमाथि अनुसन्धान थालेको छ। सो घटनापछि गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी लिनुपर्ने मागसहित प्रतिपक्षले संसद अवरुद्ध गर्दै आएको छ।
तर बर्तौलाले गृहमन्त्रीको राजीनामा नहुने र छानबिन समिति नबन्ने दोहोर्याउँदै प्रतिपक्षीलाई संसद सञ्चालनमा सहयोग गर्न आह्वान गरे। ‘गृहमन्त्रीले जवाफ दिने मनस्थिति बनाइसक्नुभएको छ, अब प्रतिपक्षले पनि संयम देखाएर संसद चलाउन दिनुपर्छ,’ उनले स्पष्ट पारे।









