गृहपृष्ठ सङ्घीय संसद्को दुवै सदनको बैठक आज, आर्थिक सर्वेक्षण र विधेयकमाथि छलफल हुने

सङ्घीय संसद्को दुवै सदनको बैठक आज, आर्थिक सर्वेक्षण र विधेयकमाथि छलफल हुने


काठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजेका लागि तय गरिएको छ।

प्रतिनिधिसभाको अघिल्लो बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो। आजको बैठकमा भने विभिन्न महत्वपूर्ण विधेयकहरू पेश र छलफल गर्ने कार्यक्रम तय गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ प्रस्तुत गर्नेछन्। त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम पनि कार्यसूचीमा समावेश गरिएको छ।

त्यसैगरी, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले २०८२ को वार्षिक प्रतिवेदन पनि बैठकमा पेश गर्नेछिन्।

बैठकमा युवा तथा खेलकुद मन्त्रालयस्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूबाट दिने कार्यक्रम पनि रहेको संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिएका छन्।

राष्ट्रियसभाको बैठकमा पनि उपप्रधानमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ। साथै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ लाई विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन्।

आजको राष्ट्रियसभा बैठकमा शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसंख्या, र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रमसमेत तय भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु