गृहपृष्ठ क्षितिज थेबेको विजयमा विष्णु पौडेलको हात, शंकर पोखरेलको प्रत्याशी पराजित
क्षितिज थेबेको विजयमा विष्णु पौडेलको हात, शंकर पोखरेलको प्रत्याशी पराजित
पोखरा, १३ जेठ।
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे पुनः निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका थेबे यसपटक भने निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धा गरी विजयी भएका हुन्।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष नियुक्तिका आधारमा थेबेलाई अध्यक्ष बनाएका थिए। तर, यसपटक पोखरामा सम्पन्न युवा संघको महाधिवेशनमा उनले निर्वाचनमार्फत प्रतिस्पर्धा गर्दै अध्यक्ष पदमा पुन: जित हासिल गरेका हुन्।
अध्यक्ष पदका लागि भएको मतदानमा कुल १४०४ मत खसेको थियो। थेबेले आफ्ना प्रतिस्पर्धी सुमन पुरीलाई १८८ मतको फराकिलो अन्तरले पराजित गरे। निर्वाचनमा थेबेको नेतृत्वमा रहेको प्यानल नै पूर्ण रूपमा विजयी भएको छ। यद्यपि निर्वाचन समितिबाट औपचारिक घोषणा हुन भने बाँकी नै छ।
यो निर्वाचनमा पार्टीको आन्तरिक गुटगत समीकरण पनि स्पष्ट देखिएको छ। विजयी उम्मेदवार थेबे एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलको समर्थनमा थिए, भने पराजित उम्मेदवार पुरीलाई पार्टी महासचिव शंकर पोखरेलको साथ रहेको थियो। यसबाट पार्टीभित्रको शक्ति सन्तुलन र गुटीय प्रतिस्पर्धा झल्किएको छ।












