गृहपृष्ठ लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा : “जनताको करबाट तलब लिने अधिकार छैन
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा : “जनताको करबाट तलब लिने अधिकार छैन
३० वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । समानुपातिक प्रणालीअन्तर्गत जनमत पार्टीबाट प्रतिनिधित्व गरिरहेकी गुरुङले सोमबार सभामुखसमक्ष राजीनामा पत्र बुझाउँदै जिम्मेवारी त्याग गरेकी हुन्।
राजीनामा पत्रमा उनले लेखेकी छन्, “राष्ट्र, देश र जनता भन्दा माथि कोही हुँदैन भन्ने मेरो दृढ मान्यता हो। जनताले तिरेको करबाट मैले पारिश्रमिक लिनु उचित ठानिनँ। त्यसैले आजकै मितिबाट पदमुक्त गरियोस् भन्ने अनुरोधसहित राजीनामा पेश गर्दछु।”
उनको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा फोन स्वीच अफ रहेको जनाइएको छ।
यस सम्बन्धमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङले सभामुखलाई राजीनामा पत्र बुझाएको पुष्टि गरेका छन्। साथै, सभामुखलाई उक्त राजीनामा स्वीकृत गर्न आफूले आग्रह गरिसकेको जानकारी पनि उनले दिएका छन्।









