केही समय अगाडि भारतको सर्वोच्च अदालतले बच्चाको संरक्षकत्व सम्बन्धी एउटा मुद्दामा पति र पत्नीबीचको सम्बन्धको मुद्दामा जसले जिते पनि सबैभन्दा ठूलो हार नाबालक सन्तानको हुन्छ भनी उल्लेख गरेको छ ।
वास्तवमा बाबु-आमाको विवाद वा झै–झगडाले नाबालकको कलिलो मस्तिष्कमा नकारात्मक असर पर्दछ । यसको न्यूनीकरणका लागि अभिभावक दुवैले प्रयास गर्न आवश्यक छ । पति र पत्नीबीच जस्तोसुकै ठूलो झगडा भए पनि बच्चाको दायित्व दुवैले पूरा गर्नुपर्ने हुन्छ ।
अभिभावक तथा राज्यले सधैं बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने हुन्छ । जैविक बाबुआमा दुवै नाबालक सन्तानको प्राकृतिक संरक्षक हुन् । त्यसैले पति वा पत्नीले नाबालक सन्तानलाई अर्को पक्षको जानकारी वा मञ्जुरी विना नै आफूसँगै राखेमा नाबालक बच्चाको अपहरण गरेको वा बन्दी बनाएको मानिंदैन । अदालतबाट पनि अपवाद बाहेक नाबालक बच्चाको जैविक बाबु–आमा जीवित रहेसम्म परिवारका अन्य सदस्यलाई नाबालकको संरक्षणको जिम्मा दिइँदैन ।
नाबालक बच्चाको संरक्षकत्वको मुद्दामा संसारभरि नै अदालतले मुख्यतः निम्न विषयहरूलाई ध्यान दिएको पाइन्छ ।
बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिएको हुन्छ ।
बाबु वा आमामध्ये कोसँग बस्दा बच्चाको सर्वाङ्गीण विकास सम्भव छ भन्ने हेरिन्छ ।
बच्चाको उमेर, लिंग, नैतिक (उचित) पालनपोषण गर्न सक्ने अवस्था, बच्चाको खुसी र आफ्नो धारणा व्यक्त गर्न सक्ने उमेर भएका नाबालकको हकमा निजको धारणा समेत हेरिन्छ ।
नाबालक संरक्षणको जिम्माको विषयमा नाबालक जिम्मामा लिने अभिभावकको अधिकारलाई नहेरी नाबालकको अधिकारलाई हेरिन्छ ।
नेपालको संविधानको धारा ३९ ले बालबालिकाको हक र हित संरक्षण गर्ने उद्देश्य राखेको छ । बालबालिकाको सर्वोत्तम हित केन्द्रित संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ को प्रस्तावना र नेपालको संविधानको बाल विकास र हित लक्षित यस धाराको उद्देश्यलाई कार्यान्वयन गर्न बालबालिका सम्बन्धी ऐन, २०७५ को प्रस्तावनामै ऐनको उद्देश्य बालबालिकाको सर्वोत्तम हित कायम गर्नु भन्ने उल्लेख भएको पाइन्छ ।
उक्त ऐनको दफा ३ को उपदफा (१) मा बालबालिकालाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ । त्यस्तै अन्य विभिन्न दफाहरूमा बालबालिकाको हकअधिकारको व्यवस्था उल्लेख भएको पाइन्छ । सोही ऐनको दफा १६ ले राज्यका कुनै निकाय (अदालत समेत) ले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने भन्ने उल्लेख गरेको पाइन्छ ।
नेपालको सर्वोच्च अदालतबाट (ने.का.प. २०७०, अङ्क ३, निर्णय नं. ८९७९) बन्दीप्रत्यक्षीकरण मुद्दामा बालबालिकाहरूको अभिभावक बीचको विवादमा अदालतले बाबु वा आमा वा अरू कसैको अहम्को पृष्ठपोषण गर्न नसक्ने तथा बालमनोविज्ञानको कसीमा सम्बन्धित बालबालिकाको सर्वोत्तम हितमा रहेको हुनुपर्ने भनी उल्लेख छ ।
बाबुआमाका बीचको सम्बन्धबाट उत्पन्न हुने समस्याको दुष्प्रभाव नाबालिग छोराछोरीमा पर्न नदिन वा सोको प्रभावबाट पर्ने असर कसरी न्यून गर्ने भन्ने कुराको खोजी नै बाल न्याय प्रणालीको मर्म भएको उल्लेख छ ।
बालबालिकाको संरक्षकत्वको विषयमा सम्बन्धित बालबालिकाको सर्वोत्तम हितको पक्षलाई साङ्गोपाङ्गो रूपमा हेरी समन्यायिक दृष्टिकोणबाट निष्कर्षमा पुग्नु अपरिहार्य हुने भनी व्याख्या समेत भएको पाइन्छ ।
संसारभरि नै नाबालक बच्चाको संरक्षकत्व निम्न ३ प्रकारले दिने गरेको पाइन्छ
भौतिक वा शारीरिक संरक्षकत्व : नाबालक बाबु वा आमामध्ये कोसँग बस्न पाउने भन्ने विषय ।
संयुक्त संरक्षकत्व : नाबालक बाबु वा आमासँग आलोपालो गरी दुवैसँग बस्न पाउने भन्ने विषय ।
कानुनी संरक्षकत्व : नाबालकको स्वास्थ्य, शिक्षा लगायतको महत्वपूर्ण विषयको निर्णय बाबु वा आमा कसले गर्ने भन्ने विषय ।
नेपालमा मुलुकी देवानी संहिता २०७४ ले पति–पत्नीको वैवाहिक सम्बन्ध अन्त्य भएको अवस्थामा ५ वर्ष उमेर पूरा नभएका नाबालकको हकमा आमाले अर्को विवाह गरे पनि नगरे पनि आमाले चाहेमा र ५ वर्ष भन्दा माथिको नाबालक भएमा आमाले चाहेमा अर्को विवाह नगरेको अवस्थामा आमाको जिम्मामा नाबालक रहने व्यवस्था छ ।
साथै १० वर्ष उमेर पूरा भएको नाबालकको हकमा निज कसको जिम्मामा रहने हो सो विषयमा निजको राय लिनुपर्ने व्यवस्था छ । भारतमा भने १२ वर्ष उमेर पूरा भएको नाबालकको हकमा यस्तो व्यवस्था गरेको छ ।
तर स्मरणरहोस् कि नाबालक जिम्मा लिने अभिभावकले बालबालिकाको सर्वोत्तम हितमा मात्र कार्य गर्नुपर्दछ । नाबालकको हकमा पति–पत्नीको छुट्टै सहमति भएमा सोही सहमति बमोजिम हुने व्यवस्था मुलुकी देवानी संहिताले गरेको छ ।
त्यसैगरी पति–पत्नी भिन्न भएको अवस्थामा पालनपोषण, शिक्षा र उपचारको व्यवस्था पति–पत्नीको छुट्टै सहमति भएमा सोही सहमति बमोजिम हुने र यसरी सहमति नभएको अवस्थामा ५ वर्ष उमेर पूरा नभएका नाबालकको हकमा आमाले पालनपोषण, शिक्षा र उपचारको व्यवस्था गर्नुपर्ने, ५ वर्ष उमेर पूरा भै १० वर्ष पूरा नभएको नाबालकको हकमा बाबुले पालनपोषण, शिक्षा र उपचारको व्यवस्था गर्नुपर्ने र १० वर्ष पूरा भएको नाबालकको हकमा निजले आमा वा बाबु जोसँग बस्न मञ्जुरी गरेको छ सोही व्यक्तिले नै नाबालकको पालनपोषण, शिक्षा र उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
तर नाबालक जिम्मा नलिने अभिभावकको आम्दानी नाबालक जिम्मा लिने अभिभावकको भन्दा बढी रहेछ भने अदालतले नाबालक जिम्मा नलिने अभिभावकलाई समेत नाबालकको लागि खर्च भराउन आदेश दिनसक्ने व्यवस्था रहेको छ ।
नाबालक जिम्मा लिने अभिभावकले कहिल्यै पनि बच्चालाई अर्कोको विरुद्ध भड्काउने तथा भेटघाट गर्न रोक लगाउने कार्य गर्न पाइँदैन । त्यसैगरी भेटघाटको सुविधा पाएका अभिभावकले पनि नाबालकको सर्वोत्तम हित विपरीतको कार्य गरेमा भेटघाट गर्नबाट रोक लगाउने गरी अदालतबाट आदेश दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।
बच्चाको आवश्यकता भनेको अभिभावकबाट माया–ममता र उचित लालनपालन पाउनु हो । बच्चालाई मायाममता र उचित पालनपोषण आमा वा बाबु जसले राम्रोसँग गर्न सक्दछ, उसैले सर्वोत्तम हितलाई प्राथमिकता दिएको मान्नुपर्दछ । हाल कतिपय अवस्थामा पति वा पत्नीले नाबालकलाई एक अर्कोसँग बदला लिने हतियारको रूपमा प्रयोग गरेको देखिन्छ ।
कतिपय अवस्थामा नाबालकको भिडियो समेत प्रयोग गरी पारिवारिक विषय सामाजिक सञ्जालमा समेत छरपस्ट गरेको पनि देखिन्छ । यसरी बच्चाको गोपनीयताको विषयलाई समेत सार्वजनिक गर्दा बच्चाको आत्मसम्मान र भावनामा समेत चोट पुग्दछ । यस्तो विषयमा अभिभावक सचेत हुनुपर्दछ ।
नाबालक बच्चाका पनि कतिपय विषयलाई गोप्य राख्ने अधिकार हुन्छ । बच्चाको विषय सार्वजनिक गर्दा बच्चालाई साथीहरूले हेर्ने नजर र गर्ने व्यवहारमा समेत नकारात्मक असर पर्न सक्दछ । बच्चाले सो कारण साथीहरूसँग खुलेर बोल्ने तथा खेल्ने वातावरण समेत नहुन सक्दछ ।
यस्ता हर्कतपछि बच्चाले लाज, ग्लानि र अपहेलनाको महसुस गरी स्कुलमा समेत जान इन्कार गर्न सक्दछ । यस्तो हर्कतले नाबालक बच्चाको कलिलो मानसपटलमा नकारात्मक असर पर्न सक्दछ । यस्तो व्यवहार नाबालक बच्चाको सर्वोत्तम हित तथा बालबालिका सम्बन्धी ऐन २०७५ को समेत विपरीत हुन्छ ।
पति र पत्नीको मनमुटाव भनेको दुई व्यक्तिबीचको असमझदारी मात्र हो । यसमा नाबालक सन्तानको कुनै दोष हुँदैन । नाबालक सन्तान उसको इच्छाले नभई पति–पत्नीको रहर र इच्छाले जन्मेको हुन्छ । नाबालक सन्तानले आमा र बाबु दुवै जनाको समान माया र साथ पाउनुपर्दछ । उक्त कुरा पाउनु निज नाबालक सन्तानको जन्मसिद्ध अधिकार समेत हो ।
प्राकृतिक बाबुले पाएनन् छोरीको संरक्षकत्व
नेपालको सर्वोच्च अदालतले नाबालक बालबालिकाको मौलिक अधिकारको संरक्षकको भूमिका निभाउँदै आएको प्रशस्त उदाहरण छन् । नाबालकको सर्वोत्तम हितलाई प्राथमिकता दिंदै केही समय अगाडि नेपालको सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई तथा डा. कुमार चुडालबाट एक ऐतिहासिक फैसला भएको छ । नाबालक छोरी जिम्मा लगाई पाऊँ भन्ने उक्त मुद्दामा भएको फैसला यहाँ सान्दर्भिक भएकाले चर्चा गरिएको छ ।
मुद्दाको पृष्ठभूमि
पत्नीलाई विष खुवाई हत्या गरेको आरोपमा पति समेत पुर्पक्षको लागि थुनामा गएपछि नाबालक नातिनीलाई मावलीतर्फका हजुरबाले ल्याएर पालेको अवस्थामा बाबुले पत्नी हत्याबाट सफाइ पाई नाबालिका छोरीको प्राकृतिक बाबु संरक्षक हुँदाहुँदै मावलीका हजुरबुबा संरक्षक हुन नसक्ने जिकिर सहित नाबालिका छोरीको प्राकृतिक बाबु अदालत पुग्दछन् । यसरी मावलीतर्फका हजुरबाले संरक्षकत्व लिएको समयमा भर्खर १४ महिना भएकी दुधे बालिका सर्वोच्च अदालतमा मुद्दा फैसला हुने समयसम्म १२ वर्षकी भइसकेकी छिन् ।
अदालतको आदेश
तत्कालीन अवस्थामा नाबालिकाको बाबु लगायतका परिवारका अन्य सदस्यहरू उपर नै नाबालिकाको आमाको हत्याको आरोपमा मद्दा दायर भएकोे अत्यन्त असहज अवस्था र परिस्थितिमा मावलीका हजुरबाले संरक्षकत्व लिएको भन्दै विपक्षीहरूले पेश गरेका प्रतिपादित सिद्धान्त यस मुद्दाको अवस्था र परिस्थितिसँग सामीप्यता राख्रे वा मेल खाने प्रकृतिको देखिन नआएको अवस्था छ ।
तसर्थ प्रस्तुत मुद्दामा न्यायको दृष्टि तथा बालबालिकाको सर्वोत्तम हितबाट उपयुक्त धारणा निर्माण गर्नु नै न्यायोचित हुने देखिन्छ । बालबालिकाको सर्वोत्तम हित अन्तर्गत पारिवारिक वातावरणको संरक्षण तथा सम्बन्ध कायम, हेरचाह, संरक्षण र सुरक्षा, स्वास्थ्य र शिक्षा, स्याहार, मनोरञ्जन तथा निजले प्राप्त गर्न सक्ने सेवा र सुधारहरू, कानुनी हक, हित, अधिकार र न्याय समेतका विषयहरूलाई हेर्नुपर्दछ भनी व्याख्या गरिएको छ ।
त्यसैगरी बालबालिकाको सर्वोत्तम हित के गर्दा हुन्छ भन्ने विषयमा सर्वप्रथम सम्बन्धित बालबालिकाको धारणा बुझ्नुपर्ने हुन्छ । सो गर्ने क्रममा कैयौं मुद्दामा यस अदालतले सम्बन्धित नाबालकलाई नै इजलासमा झिकाई निजको धारणा बुझी सोही बमोजिम निर्णय निष्कर्षमा पुग्ने गरेको पनि छ भन्दै फैसलामा बोलिएको छ ।
निज बालिकालाई सोध्दा आफू नानासँग बस्ने र नानासँग खुसी रहेको कुरा निजले व्यक्त गरेकाले बालिकाको आमाको मृत्युको परिस्थितिले नाबालिका मावलीमा हजुरबुवा समेतको संरक्षणमा रहेको अवस्था मुलुकी देवानी संहिता, २०७४ ले नाबालकको संरक्षकत्वको नवौं क्रममा मावली पट्टिका बाजे–बज्यै राखे पनि १० वर्ष उमेर पूरा गरेका व्यक्तिले संरक्षक रोज्न पाउने अधिकार रहेको छ ।
बालबालिकाको सर्वोत्तम हितलाई दृष्टिगत गर्दा कुनै कारणले अघिल्लो क्रमका व्यक्तिलाई संरक्षकत्व दिनु न्यायको दृष्टिमा अनुपयुक्त देखिएमा अदालतले प्राथमिकता क्रममा पछिको हजुरबुवा हजुरआमा योग्यताको सूचीमा पर्दै नपरेको अवस्था होइन ।
यी नाबालिका आमाको मृत्यु पश्चात् नै मावलीमा रही निजको भरणपोषण, शिक्षादीक्षा भएको अवस्था छ । यी कुराहरूलाई हेर्दा मावलीबाट संरक्षकत्व छुटाई बाबुको जिम्मा लगाउनु निज बालिकाको सर्वोत्तम हितमा हुने देखिंदैन भनी नाबालिकाको संरक्षक मावलीका हजुरबुवालाई दिइने गरी फैसला भएको छ ।
यो फैसला गर्नु अगाडि पटक-पटक इजलासले कोसँग बस्ने भनी नाबालिकाको धारणा बुझ्दा नानासँग बस्ने भनेकी थिइन् भने पुनः इजलासमा उपस्थित सबै व्यक्तिहरूको रोहबरमा आफू नानासँग बस्ने भनेकी थिइन् । त्यसैले यस फैसलामा नाबालिकाको धारणालाई सम्मान गर्दा नै निजको सर्वोत्तम हितको संरक्षण हुने देखियो भनी फैसलामा उल्लेख गरिएको छ ।
साथै फैसलामा विपक्षीहरूले यी बालिकाको जिम्मा खोज्ने होइन, उसको धारणाको सम्मान गर्दै अंशको हक प्रदान गर्ने र निजलाई वयस्क नभएसम्म अर्थात् नाबालिकाले सही गलत आफैं छुट्याउन सक्ने कानुनी रूपमा सक्षमता प्राप्त नभएसम्म वादीहरूले धैर्य गर्नुपर्ने देखियो । नाबालिका साबालक भएपछि भविष्यबारे निर्णय गर्न सक्ने र सक्षम भई विपक्षीसँग बस्न चाहेमा विकल्प खुल्ला नै रहन्छ भनी उल्लेख गरिएको छ ।
भारतको सर्वोच्च अदालतको उदाहरण
त्यसैगरी भारतको सर्वोच्च अदालतको समेत यस्तै उदाहरण देखिन्छ । साजिया अमन खान एण्ड अदर्स विरुद्ध द स्टेट अफ उडिसा एण्ड अदर्स (२०२४) भएको बालिकाको संरक्षकत्वसँग सम्बन्धित उक्त मुद्दामा भर्खरै भारतको सर्वोच्च अदालतले नाबालकको सर्वोत्तम हितको विषयमा एउटा ऐतिहासिक निर्णय प्रस्तुत गरेको छ । जसमा अदालतले नाबालकको सर्वोत्तम हितलाई प्राथमिकता दिंदै जैविक संरक्षकत्व भन्दा माथि उठेर उक्त आदेश गरेको छ ।
मुद्दाको पृष्ठभूमि
मुद्दा एक १२ वर्षीया नाबालिकासँग सम्बन्धित छ । १२ वर्षीया ती बालिका सानो छँदा निजको बाबुले आर्थिक अभावका कारण दुई जुम्ल्याहा छोरीमध्ये एक छोरी आफ्नो बहिनी नाताको व्यक्तिलाई पाल्न दिएका हुन्छन् ।
पछि छोरी १२ वर्ष भएपछि अपहरण गरेको भनी जाहेरी दिंदा प्रमाणको अभावमा मुद्दा चल्न सक्दैन तर पछि निज बाबुले छोरीको संरक्षकत्व आफूले पाउनुपर्ने भन्दै मुद्दा दायर गर्दछन् । यस्तो अवस्थामा बालिकाको संरक्षकत्व जैविक पिता वा पालनपोषण गरिरहेको व्यक्तिमध्ये कसलाई दिनुपर्छ भन्ने विवादमा यो फैसला भएको छ ।
अदालतको फैसला
भारतको सर्वोच्च अदालतले जैविक पिताको पक्षमा फैसला गरेको उडिसा उच्च अदालतको निर्णयलाई उल्ट्याउँदै नाबालिकाकोे पालनपोषण गरिरहेको आन्टीलाई संरक्षकत्व दिएको छ । त्यहाँ पनि अदालतबाट नाबालिकालाई कोसँग बस्ने भनी निजको धारणा बुझ्दा नाबालिकाले आन्टीसँग बस्ने धारणा व्यक्त गरेको तथा निज बालिकाको पालनपोषण गर्ने आन्टीसँगको भावनात्मक सम्बन्ध समेतको आधारमा बच्चाको सर्वोत्तम हित आन्टीसँग बस्दा हुने भनी फैसला गरेको छ ।
अतः माथि उल्लिखित सिद्धान्त समेतको आधारमा बच्चाको खुसी, सम्मान, संरक्षण, गोपनीयता र सर्वोत्तम हित महत्वपूर्ण भएको पृष्टि भएको छ । नाबालकको संरक्षकत्व कसैले कोखमा राखेको आधारमा वा कसैले प्राकृतिक अभिभावक भएको आधारमा मात्र पनि प्राप्त गर्न सक्दैनन् ।
यसका लागि नैतिक (उचित) पालनपोषण गर्न सक्ने हुनुपर्दछ । प्रकृतिले हामीलाई केही समयका लागि बालबालिकालाई हेरचाह र भरणपोषणको जिम्मेवारी दिएका छन्, त्यसको इमानदारीका साथ पालना गरौं । सन्तानलाई जन्म दिंदैमा कोही महान् र जन्म नदिंदैमा कोही तुच्छ हुँदैन ।
संसारमा धेरै यस्ता व्यक्तिहरूको उदाहरणहरू छन् जहाँ आफूले आफ्नै कोखबाट सन्तानलाई जन्म नदिए पनि हजारौं सन्तानका आमाबाबु भएका छन् । उदाहरणको लागि भारतको ट्रान्सजेन्डर अधिकारकर्मी, अभियन्ता गौरी सावन्तको जीवनलाई लिन सकिन्छ, जसले आफू ट्रान्सजेन्डर भएका कारण कोखबाट सन्तानलाई जन्म नदिए पनि हजारौं सन्तानको आमा बनेकी छन् । जैविक अभिभावक र अन्य अभिभावकमा फरक यति मात्र हो कि जैविक अभिभावकले सन्तानलाई आफ्नो कोखबाट जन्म दिन्छन् भने अन्य अभिभावकले आफ्नो हृदयबाट सन्तानलाई जन्म दिन्छन् ।
नाबालकको पनि आफ्नै पहिचान, मौलिकता तथा अधिकार हुन्छन् । निजहरूलाई वस्तु जसरी आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग नगरौं । सम्भव भएसम्म पति–पत्नीले सन्तानको संरक्षणको विवाद नाबालकको सर्वोत्तम हितलाई समेत विचार गरी आपसी सहमतिमै मिलाउन् । विवाद सहमतिमै मिलाउन नसके पनि नाबालकको मनमा एक–अर्को प्रति विष नघोलौं ।
याद राखौं कि बालबालिका भनेको बीउ हुन् । तपाईंले विष रोपेमा कुनै दिन तपाईंलाई नै विष लाग्दछ । भलै नाबालकले आफ्नो धारणा स्पष्ट भाषामा व्यक्त गर्न नसक्ला तर आफूलाई कसले कस्तो व्यवहार गरेको छ भन्ने हेक्का पक्कै पनि राख्न सक्दछ । त्यसैले सन्तानको संरक्षकत्वको विषयमा आफ्नो अहम् र जिद्दीबाट माथि उठौं । नाबालकको सर्वोत्तम हितलाई प्राथमिकता दिऔं ।