काठमाडौं । लामखुट्टेको टोकाइ र यसबाट फैलिने रोगको जोखिमबाट मुक्त हुन असम्भव छ । किनकि वर्षैपिच्छे अत्यधिक गर्मी र वर्षातमा मौसमा यसको आतंक देखिन्छ । यस पटक पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण अत्यधिक बढेको छ ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो ९ महिनामा साढे ९ हजार केस डेंगुको देखिएको छ । यो महिनामा मात्र २६ सय बढीमा संक्रमण पुष्टि भएको छ ।
डेंगुसँगै जापानीज इन्सेफलाइटिसबाट संक्रमित हुनेको संख्या पनि बढी रहेको छ । इन्सेफलाइटिसबाट ६१ संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ ।
वर्षायाममा संक्रामक रोग बढी देखिन्छन् । यो समय बढी जीवाणुहरु आर्द्रताले सक्रिय हुन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ । पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैनन् । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ ।
लामखुट्टेको जनसंख्या बढेसँगै यसको टोकाइबाट डेंगु, इन्फाइटिज मात्र होइन केही अन्य रोग पनि लाग्न सक्ने विज्ञहरू बताउँछन् ।
के कस्ता रोग देखिन्छ ?
मलेरिया
लामखुट्टेको टोकाइले लाग्ने मलेरियालाई औंलो पनि भन्ने गरिन्छ । सरूवा रोग अस्पताल, टेकुका पूर्व निर्देशक तथा फेमली फिजिसियन डा. सागरकुमार राजभण्डारीका अनुसार मलेरिया लाग्नुको मुख्य कारण प्लाज्मोडियम नामको परजीवी हो, जसका विभिन्न प्रजाति हुन्छन् ।
यी प्लाज्मोडियम संक्रमित लामखुट्टेको टोकाइले रगतमा प्लाज्मोडियम प्रवेश गर्छ । यो समस्याले पहिला कलेजोमा प्रभाव पार्न थाल्छ । प्यारासाइट्सले बिस्तारै कलेजोको आकार बढाउँदै लैजान्छ । र, राता रक्तकोषिकामा प्रभावित पार्छ ।
टाउको दुख्ने, बान्ता हुने यस रोगका विशेष लक्षण हुन् । समयमै उपचार गर्न नसकेमा मलेरियाले ज्यानै लिने उनी बताउँछन् ।
के छ उपचार ?
मलेरिया संक्रमणको आशंका भएमा आरडीटी (ब्लड एन्टिजेट टेस्ट) र माइक्रोस्कोपी (ब्लड सेमर) जाँच गर्न सकिने डा. राजभण्डारी बताउँछन् ।
स्वास्थ्य परीक्षण गर्दा मलेरिया लागेमा चिकित्सकको परामर्शअनुसार औषधि खानुपर्छ । समयमा उपचार गर्न सकेमा सजिलै निको हुने उनको भनाइ छ ।
डेंगु
विश्वको आधा जनसंख्या डेंगुको जोखिममा छ । संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, चक्कर लाग्ने, आँखाको भित्री भाग दुख्ने, मांसपेशी वा जोर्नी दुख्ने र शरीर गलेको महसुस हुने लगायतको लक्षण देखा पर्छ ।
यो समस्यामा सबैभन्दा ठूलो चुनौती भनेको रगत जम्न नदिने प्लेटलेट्स कम हुनु रहेको डा. राजभण्डारी बताउँछन् । उनका अनुसार डेंगु हेमोरेजकि फभिर भनेर चनिने गम्भीर डेंगु घातक हुन सक्छ । राति टोक्ने मलेरिया निम्त्याउने एनोफलिसि लामखुट्टेले नभई डेंगु निम्त्याउने एडिस लामखुट्टे दिनमा सक्रिय रहन्छ ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘घाम लाग्ने बित्तिकै एडिस लामखुट्टेले टोक्न थाल्छन्, जुन दिउँसोको चर्को घाममा तापक्रम बढेपछि सक्रिय कम हुन्छन् । साँझ बेलुकी ४ देखि ५ को बीचमा सक्रिय हुन्छन् र रातमा सेलाउँछन् ।’
डा. शेरबहादुर पुन
के छ उपचार ?
यसबाट बच्न न त कुनै खोप, न त कुनै विशेष औषधि । त्यसैले लक्षण अनुसारको उपचार यसमा समावेश छ । ज्वरो कम गर्न पीडितलाई आराम गर्न, बढी पानी तथा झोलिलो खानेकुरा खान र दुखाइ नियन्त्रणको लागि प्याराससिटामोल ट्याब्लेट खुवाइन्छ ।
जापानीज इन्सेफलाइटिस
डा. पुनका अनुसार डेंगु संक्रमण फैलिरहेको बेला लामखुट्टेको टोकाइबाट सर्ने अर्को रोग जापानीज इन्सेफलाइटिसको संक्रमणले पनि ठूलो चुनौती थपेको छ ।
जापानीज इन्सेफलाइटिस भन्ने भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो, जुन सुँगुर जस्ता जनावर र चराहरुलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउने उनी बताउँछन् ।
यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ । मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखापर्ने हुन्छ । गम्भीर रुपमा असर पारेमा कोमा (बेहोस अवस्था) मा पुर्याउन सक्ने डा. पुन बताउँछन् ।
के छ उपचार ?
डा. पुनका अनुसार जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार नभएकाले लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै- ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ । यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् ।
तर जसको प्रतिरोधात्मक क्षमता कम भएमा उनीहरुको अवस्था गम्भीर बन्न सक्ने उनी बताउँछन् । ‘एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणालीलाई हमला गर्ने रोग भएकाहरुमा भने आईसीयूदेखि भेन्टिलेसनमै जाने सम्भावना हुन्छ’ उनी भन्छन्, ‘प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ ।’
चिकनगुनिया
यसको नाम झट्ट सुन्दा सडकमा पाइने स्वादिष्ट परिकारको जस्तै लाग्छ । तर यो लामखुट्टेको टोकाइबाट लाग्ने एक पीडादायी रोग हो जसले उच्च ज्वरो र जोर्नी दुख्ने गर्छ ।
डा. राजभण्डारी भन्छन्, ‘यो रोगले शरीर यति कमजोर पार्छ कि कडा जोर्नी दुखाइको साथ ओछ्यानमा सुत्नुपर्ने अवस्था आउँछ । यस्तो दुखाइ हप्तौंसम्म रहन सक्छ । र, संक्रमणले पछि बाथको रोग पनि निम्त्याउन सक्छ ।’
यद्यपि यो सामान्यतया घातक नहुने तर प्रतिरोध क्षमता कम भएका र वृद्ध व्यक्तिहरूमा मृत्यु समेत गराउन सक्ने उनी बताउँछन् ।
के छ उपचार ?
हाल यसको उपचारका लागि कुनै औषधि र कुनै खोप बनेको छैन । यसबाट बच्ने सबैभन्दा सजिलो उपाय लामखुट्टेबाट बच्नु हो ।
डा. राजभण्डारीका अनुसार राम्रो पक्ष भनेको एक पटक यसको सिकार भएपछि शरीरमा रोगप्रतिरोधात्मक क्षमता विकास हुन्छ । र, अर्को पटक संक्रमणको सम्भावना नरहने उनी बताउँछन् ।
लामखुट्टेबाट सर्ने रोगबाट बच्न डा. राजभण्डारीको सुझाव
– लामखुट्टेको टोकाइबाट बच्न यसको वृद्धिलाई रोक्नुपर्छ ।
– राति सुत्दा सधैं झुल प्रयोग गर्ने तथा घरबाहिर निस्कँदा लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनु नै यसबाट बच्ने प्रमुख उपाय हो ।
– पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।
– पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिनुका साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।
– लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्किने तथा घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्नुपर्छ ।
@अनलाइनखबर